एसएसपी राणालाई डिआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौं, ७ साउन : गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति गर्न सिफारिस गरेको छ ।

बिहीबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले राणालाई बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी राणालाई बढुवा सिफारिस गरिएको हो ।

डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा भएपछि रिक्त दरबन्दीमा राणालाई बढुवा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । एक वर्षअघि धरानकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका राणा सुनसरी जिल्ला अदालतबाट हाजिरी जमानीमा छुटेका हुन् ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी उपरीक्षक छायाँ देवी गुरुङलाई प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ ।

नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह नर्सिङतर्फको प्रहरी बरिष्ठ उपरीक्षक पदमा प्रहरी उपरीक्षक रहेकी गुरुङलाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीले जानकारी दिए ।

त्यस्तै, सोही अस्पतालमा कार्यरत प्रहरी नायब उपरीक्षक रामेश्वर अधिकारीलाई पनि प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.