एमाले केन्द्रीय कमिटीमा कार्यदलको १० बुँदे सहमति वितरण
काठमाडौं, ५ साउन : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा वितरण गरिएको छ । अध्यक्ष केपी शर्मा ओली र कार्यदलको १० नेताको हस्ताक्षरसहित बैठकमा सहमतिको प्रस्ताव वितरण गरिएको हो ।
अध्यक्ष ओली र कार्यदलका १० नेताको हस्ताक्षरसहितको प्रस्ताव बैठकमा वितरण गरिएको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । सहमति पत्रमा वरिष्ठ नेता माधव नेपालले भने हस्ताक्षर गरेका छैनन् ।
कार्यदलका तर्फबाट बैठकमा बोल्दै नेता सुवास नेम्वाङले सहमति कार्यान्वयनमा जोड दिएका थिए ।
यसअघि केन्द्रीय कमिटीको १४ औं बैठक भनी बोलाइए पनि उक्त बैठकलाई दशौं बैठकमा परिणत गरिएको छ । माधव नेपाल समूहको मागअनुसार नै दशौं बैठकमा परिणत गरिएको बताइएको छ । नेकपा माओवादी केन्द्रसँग एकताअघि एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त रहेका थिए ।
एमालेको जारी बैठकमा कार्यदलले तयार गरेको १० बुँदे सहमतिको प्रस्ताव, सर्वोच्च अदालतको फैसला, अनुशासन विपरीत काम गर्नेसँग स्पष्टीकरणलगायतका बिषयमा छलफल भइरहेको छ ।
हिजोको बैठकले वरिष्ठ नेता नेपालसहित २२ सांसदलाई कारबाही गर्ने तयारीको लागि स्पष्टीकरण सोधेको थियो ।
बैठकमा शेरबहादुर देउवाको पक्षमा मतदान गरेका माधव नेपाल पक्षीय नेताहरूको बारेमा कुनै निर्णय भएन । यसअघि सोमबार उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।
बैठक भोलि (बुधबार) दिउँसो ३ फेरि बस्ने छ ।

