कोपा अमेरिका फुटबल : पेरूलाई हराउँदै कोलम्बिया तेस्रो
काठमाडौं, २६ असार : कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो बनेको छ ।
शनिबार बिहान पेरुलाई ३–२ गोल अन्तरले हराउँदै कोलम्बिया तेस्रो बनेको हो ।
पहिलो हाफको ईन्जुरी समयमा योशिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु हुने बित्तिकै चौथो मिनेटमा जुआन कुआड्राडोले खेल बराबरीमा ल्याएका थिए ।
लुईस डियाजले ६६ औं मिनेटमा कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट अघि जियानलुका लापादुलाले खेल बराबरीमा ल्याएका थिए । इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए ।
सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको कोलम्बिया र ब्राजिलसँग पराजित भएको पेरूबीच तेस्रो स्थानको लागि भिडन्त भएको थियो ।
कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना आईतबार बिहान भिड्दैछन् ।
