युरोकप फुटबल : इंग्ल्यान्ड र स्कटल्याण्डको बराबरी

काठमाडौं, ५ असार : युरोकप फुटबलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ ।

वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो ।

खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।

पहिलो हाफको १२ औं मिनेटमा  इंग्ल्यान्डका जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएको थियो ।

यस बराबरीसँगै समूह ‘डी’ को इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ ।

इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो ।

स्कटल्याण्डको भने यो पहिलो अंक हो । स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।

पुछारमा रहेको स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले स्तब्ध भएको थियो ।

चेक रिपब्लिक र क्रोएसियाको बराबरी

युरोकप २०२० अन्तर्गत शुक्रबार राति भएको खेलमा चेक रिपब्लिक र क्रोएसियाल १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

ग्लास्गोस्थित हाम्पडेन पार्कमा भएको खेलमा क्रोएसियाले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो ।

खेलमा चेक रिपब्लिकले पेनाल्टीमार्फत सुरुआती अग्रता लिएको थियो । ३७औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।

क्रोएसियाका डेजान लोभरेनले प्याट्रिकलाई फल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो । जसमा उनले सहजै गोल गरे । यस संस्करणमा उनको यो तेस्रो गोल हो ।

तर, दोस्रो हाफको सुरुमै क्रोएसियाले गोल फर्कायो । ४७औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । उनले आन्द्रे क्रमारिचको पासमा गोल गरेका हुन् ।

बराबरीपछि दुवैले १-१ अंक पाए । चेक रिपब्लिक २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । चेकले पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । उता पहिलो खेलमा इंगल्याण्डसँग हारेको क्रोएसियाले पहिलो १ अंक जोडेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.