मकवानपुरबाट १४३ किलो गाँजासहित तीनजना पक्राउ
हेटौंडा, मकवानपुर प्रहरीले १४३ किलो लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले १४३ किलो तीनसय ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको हो । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको कन्टेरनरलाई हेटौंडा –११ थानाभर्याङबाट लागुऔषध गाँजासहित नियन्त्रणमा लिइएको मकवानपुरको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए ।
उनले लागुऔषध बोकेको गाडीबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का २८ वर्षीय सनकबहादुर तामाङ, २४ वर्षको सोमे तामाङ र मकवानपुरको राक्सिराङ गाँउपालिका–१ को १८ वर्षको सविन तामाङलाई पक्राउ गरिएको बताए ।
मकवानपुरमा करिब डेढ महिनादेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा पनि मकवानपुरमा लागुऔषध ओसारपसारको घटना रोकिएको छैन । प्रहरीले बुधबार मात्रै ९६ किलो गाँजासहित पाँचजनालाई पक्राउ गरेको थियो ।
