सुदूरपश्चिम प्रदेशले ल्यायो ३० अर्ब ३३ करोडको बजेट (पूर्णपाठ सहित)
कैलाली, २ असार : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । चालुतर्फ १० अर्ब ६६ करोड ९० लाख तीन हजार रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको मन्त्री शाहले बताए । उनका अनुसार भैपरी आउने खर्चका लागि एक अर्ब ७२ करोड ४५ लाख र वित्तीय व्यवस्थामा ३० करोड विनियोजन गरिएको बताए ।
प्रदेश सरकारले आन्तरिक राजश्व परिचालनतर्फ एक अर्ब २२ करोड, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ सात अर्ब ९९ करोड ९१ लाख, रोयल्टी बाँडफाँडतर्फ तीन करोड ९२ लाख ६३ हजार र समानीकरण अनुदानतर्फ आठ अर्ब ५४ करोड ८० लाख ४० हजार विनियोजन गरेको छ ।
मन्त्री शाहले भौतिक पुर्वाधार विकास मन्त्रालयका लागि ११ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको बताए । तीन मेगावाट क्षमता भन्दा बढि क्षमताका नौगाड, सुर्नया गाड र अपर सुर्नयागाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउन र निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए ।
सबैभन्दा ठूलो बजेट भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा छुट्याएको छ । प्रदेशमा कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषिमा आधुनिकीकरण र यान्त्रिकरणको नीति अबलम्बन गरिने उद्घोष गरिएको छ। उनले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमका लागि १६ करोड, किसानलाई बिउबिजन, रसायनिक मल, कृषि ऋण, भन्सार शुल्क, बिमा शुल्क र विद्युत महसुलमा सहुलियत दिन १० करोड विनियोजन गरिएको छ ।
सामुदायिक, साझेदारी, कबुलियतीलगायत सबै प्रकृतिका वन, चरन क्षेत्र, सिमसार र जैविक विविधताको संरक्षण गर्दै दिगो वन व्यवस्थापन योजना कार्यान्वयन गर्ने नीति लिइएको छ ।उच्च हिमाली तथा लेकाली भेगमा पाइने जडीबुटीको विस्तारमा जोड दिने समेत बताइएको छ ।
