मन्त्री दीपक मनाङेलाई कारबाही गर्न राखेपको माग
काठमाडौं, १ असार : राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीब गुरुङ (दीपक मनाङे) लाई कारबाहीको माग गरेको छ ।
राखेपले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेश मन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र लाञ्छनायुक्त एवं निन्दनीय अभिव्यक्ति दिएको जनाई कारबाहीको माग गरेको हो ।
खेलकूदको विकास र विस्तारमा अनवरत परिषद्का सदस्य सचिव सिलवाल र सदस्य गुरुङबारे मन्त्री गुरुङको अभिव्यक्तिले सम्पूर्ण खेल जगत्को अपमान भएको राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘प्रदेश मन्त्रीजस्तो सार्वजनिक र महत्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्तिबाट कसैप्रति यस्तो अभिव्यक्ति आउनु भत्र्सनायोग्य कुरा हो,’ राखेपका निमित्त सदस्यसचिव पुरेन्द्रविक्रम लाखेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘माननीय मन्त्रीज्यूबाट समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव र बोर्ड सदस्यप्रति अमर्यादित टिप्पणी आउनु खेदजनक छ । यसले सम्पूर्ण नेपाली खेलकुदको अपमान भएको महसुस हामीले गरेका छौं ।
के भनेका थिए मनाङेले ?
मन्त्रीको शपथ लिएलगत्तै मनाङेले सञ्चारमाध्यमहरूलाई दिएको एक अन्तर्वार्तामा राखेप सदस्य सचिव सिलवाल पोखरा आउँदा बोर्ड सदस्य गुरुङले रक्सी र युवतीको बन्दोबस्त गर्ने गरेको आरोप लगाएका छन् ।
राखेप सदस्य सचिव सिलवाल र बोर्ड सदस्य राजेश गुरुङको सम्बन्धबारे मनाङेले भनेका छन्, ‘सिलवाल र यसको (राजेश गुरुङ)को सम्बन्ध राम्रो रहेछ । सिलवाल फेरि कस्तो रहेछ भने रक्सी र केटी भनेपछि पागल हुने । यिनीहरुले सबै प्रोभाइड गर्ने ।’
सिलवाल पोखरा आउँदा मोजमस्ती गर्न पाउने भएकाले राखेपले राजेश गुरुङलाई गण्डकी प्रदेशको सरकारी सम्पत्ति भोगचलन गर्न पाउने भनेर पत्र दिएको मनाङेको दाबी छ ।
मनाङेको यो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
