गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
पोखरा, २९ जेठ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न विपक्षी गठबन्धनका सांसदले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए । त्यसको केही समयमै प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियूक्त गरेकी हुन् ।
उनको केहीबेरमा शपथ ग्रहणको कार्यक्रम तय भएको छ । पोखरेललाई माओवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद् राजीव गुरुङको समर्थन छ ।
अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
प्रदेश प्रमुख सीता पौडेलले शनिबार ३ बजेभित्र दाबी पत्र पेस गर्न आह्वान गरेकी थिइन् । तर उक्त समयसीमा भित्र पनि नियुक्ति नपाएको भन्दै कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसद धर्ना बसेका थिए ।
