जनमोर्चाले सांसदबाट फेरि हटायो कृष्ण थापालाई
काठमाडौं, २८ जेठ : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभाका सदस्य रहेका कृष्ण थापालाई फेरि हटाएको छ ।
जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई पदमुक्त गर्दै पद रिक्त गरिदिन सभामुखलाई पत्र पठाएका थिए ।
उक्त पत्र आज गण्डकी प्रदेश सभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन् । यसअघि पनि जनमोर्चाले थापालाई सांसदबाट हटाएकोमा सर्वोच्चले पुनर्बहाली गरिदिएको थियो ।
थापाले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई विश्वासको मतको प्रस्तावका पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बसेका थिए । तर उनको दल जनमोर्चाका अरू २ सांसदले भने मुख्यमन्त्री गुरूङलाई विश्वासको मत दिएका थिएनन् ।
थापाले विपक्षी गठबन्धनले अगाडि सारेका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन नसक्ने बताइरहेका छन् । पार्टी निर्देशन नमानेको भन्दै थापालाई जनमोर्चाले फेरि कारबाही गरेको हो ।
यस्तै गण्डकी प्रदेश सभा बैठक आज स्थगित भएको छ । अब जेठ ३० गते बैठक बस्नेछ । नेकपा एमालेका सांसदहरूले मन्त्रीहरू नै बैठकमा अनुपस्थित रहेकोले बैठक चल्न नसक्ने बताएपछि स्थगित गरिएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार बिहीबार ढलेको थियो । मुख्यमन्त्री गुरूङले विश्वासको मत जुटाउन सकेनन् । ३१ जना सांसदको समर्थन चाहिनेमा गुरूङलाई एमालेका २७ जनाले मात्रै मत दिए भने विपक्षमा ३० मत आएको थियो । स्वतन्त्र सांसद राजिव गुरूङ प्रदेश सभा बैठकमै गएका थिएनन् ।
यसैगरी गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् ।
संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।
