गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान, दलहरूलाई २४ घण्टाको समय

पोखरा, २८ जेठ : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेकी छिन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि उनले शुक्रबार नयाँ सरकारको गठनको आह्वान गरेकी हुन् । त्यसका लागि उनले दलहरूलाई शनिबार दिउँसो ३ बजेसम्मको समय दिएकी छिन् ।

मुख्यमन्त्री गुरुङ संविधानको धारा १६८ (३)  बमोजिम ठूलो दलको हैसियतमा नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा उनी असफल भएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो ।

संविधानको धारा १६८ (५) बमोजिम विश्वासको मत प्राप्त गर्ने आधार भएका सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्नेछन् ।

यसबमोजिम कसैले दाबी गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने संवैधानिक व्यवस्था छ ।

बैशाख २९ गते संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत मागेका थिए । ६० सदस्यीय प्रदेश सभामा जम्मा २७ मत पाएका उनी स्वत पदमुक्त भए ।

मुख्यमन्त्री पदमुक्त भएको खबर प्रदेश कार्यालय सचिवालयले शुक्रबार पठाएलगतै प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनको प्रक्रिया सुरू गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.