प्रदेश २ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

जनकपुरधाम, २७ जेठ प्रदेश २ सरकारले कोरोना महामारीमा केन्द्रीत रहेर नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश अहिराज झाले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण र त्यसले पारेको प्रभाव न्यूनीकरणलाई जोड दिइएको छ ।

नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता स्वास्थ्य, कृषि, पर्यटन, स्वरोजगार र शिक्षालाई दिइएको छ ।

कोभिडको जोखिम कम गर्न जनकपुरधामको मुजेलियास्थित मणिपाल अस्पताको निर्माणधीन अस्पताललाई कोभिड अस्पताल बनाउने योजना सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरेको छ । यद्यपि सरकारले यो योजना चालु आर्थिक वर्षमा पनि समावेश गरेको थियो । तर, अझै अस्पताल सञ्चालनमा आएको छैन । आठै जिल्लाका अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूको दरबन्दी थप्ने, कोभिड महामारी नियन्त्रण गर्न संरचना निर्माण गरी कोरोनाको मात्रै अस्पताल छुट्याउने नीति सरकारले लिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश गौरवको योजनाको रूपमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक वर्षमा पठनपाठन सुरु गरी प्रादेशिक अस्पताललाई ५ सय बेड क्षमतामा विस्तार गर्ने योजना पनि सरकारको नीति तथा कार्यक्रममा समावेश छ ।

प्रदेशलाई कुपोषणमुक्त बनाउन अभियान सञ्चालन गरिने र प्रदेश स्वास्थ्य नीति ल्याएर प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउनुको साथै बायोमेडिकल इन्जिनियरिङ कलेजको स्थापना, अस्पतालमा उपकरणहरूको अवस्थामा सुधार गर्ने र प्रादेशिक शिक्षा गुरुयोजना कार्यान्वयन गर्ने योजना सरकारको रहेको छ । यस्तै, प्रत्येक जिल्लामा एक–एक पुस्तकालय स्थापना, प्रदेश प्रमुख नैतिक शिक्षालाई निरन्तरता दिँदै प्रदेशको प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा एक–एक प्राविधिक विद्यालय स्थापना गरी जनकपुरलाई शिक्षा हब बनाउने पनि नीति तथा कार्यक्रममा राखिएको छ ।

कोभिडका कारण रोजगारी गुमाएका युवाका लागि मुख्यमन्त्री युवा स्वरोजगार उद्यम विकास कार्याक्रम, मुख्यमन्त्री रनिङ सिल्ड, विपन्न दलितहरूका लागि दलित छात्रावृत्ति र राशन कार्ड उपलब्ध गराउने जस्ता योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.