विश्वकप छनोट : नेपाल आज जोर्डनसँग खेल्दै
काठमाडौं, २४ जेठ : विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ ।
खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको लक्ष्य जित निकाल्ने रहेको बताईसकेका छन् ।
‘हरेक खेल सुन्यबाट सुरु हुन्छ र परिणाम मैदानको प्रदर्शनमा निर्भर गर्दछ । हाम्रो लक्ष्य सुरुबाट खेल जित्ने छ ।’ प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताईरीले भने, ‘हाम्रो लक्ष्य एसियन कप छनोट हुनु हो । यसका लागि जोर्डनविरुद्ध जित आवश्यक छ ।’
अघिल्लो खेलमा चाईनिज ताईपेलाई २-० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ । ‘हामीले जोर्डनका लागि त्यतिनै तयारी गरेका छौं । जति ताईपेविरुद्ध गरेको थियौं ।’ उनले भने
जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । जोर्डनका प्रशिक्षक वाइटल बोर्केलमान्सले नेपाली टिमको खेलमा निकै फरक आएको बताए ।
‘सबैको अपेक्षा छ, हामीले तीन अंक लिन्छौ भनेर तर फुटबलमा जे पनि सम्भव छ । मैले नेपालले ईराक र ताईपेविरुद्ध खेलेको हेरेको छु । तर उनीको स्तर र खेल्ने शैली पुरै परिवर्तन भएको छ ।’ उनले भने ।
छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।
नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ । तर, नेपालको नतिजा सुखद छैन ।
नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ ।
