दुर्घटना बीमा बारे किन मौन छन् केवलकार कम्पनीहरू ?
टेकनाथ न्यौपाने, काठमाडौँ, २२ साउन : रोपवे यातायातको माध्यमबाट यात्रुहरूलाई एक ठाउँबाट अर्को ठाउँसम्म ओसारपसार गर्नेगरी संचालित केवलकार कम्पनीहरूको संख्यामा अहिले निकै वृृद्धि हुँदै गइरहेको छ ।
हाल संचालनमा आइरहेका कम्पनीहरूमा चन्द्रागिरी हिल्स लि.ले थानकोटदेखि चन्द्रागिरी पहाडको टुप्पोसम्म र मनकामना दर्शन प्रा.लि.ले चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्म यात्रुहरूलाई केवलकार सेवा प्रदान गरिरहेका छन् । त्यस्तै देशका अन्य केही स्थानहरू जस्तैः गोसाइकुण्ड, दोलखा, पोखरा लगायतका स्थानहरूमा केवलकार संचालनका लागि भौतिक संरचना निर्माण हुँदैछ ।
भौगोलिक रूपमा कठिन स्थानमा रहेका धार्मिक स्थलहरूमा यात्रुहरूलाई केवलकारको माध्यमबाट सहजरुपमा पुर्याई यातायात सेवा प्रदान गर्दा देशकै पर्यटन प्रवद्र्धनसमेत हुनपुगेको छ । तर सुरक्षाको दृष्टिकोणले केवलकारको यात्रा सधैं जोखिमपूर्ण नै हुने गर्दछ ।
विश्वमा केवलकार दुर्घट्ना भएका थुप्रै घट्ना छन् । नेपालमा भने त्यस्तो दुर्घटना अहिलेसम्म भएको छैन । केवलकार प्राविधिक यन्त्र (Machine) बाट संचालित हुन्छ । उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि त्यस्तो यन्त्रमा प्राविधिक त्रुटी र गडबडी हुनसक्ने सम्भावनालाई नकार्न पनि सकिन्न । कथंकदाचित त्यस्तो दुर्घटना भइहालेमा क्षतिपूर्ति वा दुर्घटना बीमाको व्यवस्था सम्बन्धित केवलकार सेवा प्रदायक कम्पनीहरूले गरेको हुनुपर्दछ ।
नेपालमा संचालनमा आएका केवलकार कम्पनीहरूले जारी गरेको टिकटमा दुर्घटना भइहालेमा क्षतिपूर्ति वा बीमा सम्बन्धमा केही खुलेको देखिदैंन । यात्रीको दुर्घटना बीमा गरिएको छ कि छैन कम्पनीले जारी गरेको टिकटबाट स्पष्ट खुल्दैन । केवलकार चढ्ने यात्रुहरू समेत यस विषयमा अनभिज्ञ छन् । जबकी हवाई यात्रा र लामो दुरीमा चल्ने यात्रुवाहक बसले समेत टिकटमा बीमा गरेको कुरा उल्लेख गरेको हुन्छ । यदि केवलकार संचालन गर्ने कम्पनीले यात्रीको दुर्घट्ना बीमा गरिएको छ भने सो कुरा टिकटमै उल्लेख गरेर यात्रुहरूलाई जानकारी गराउनु पर्दछ । तर बीमा व्यवस्थाको बारेमा जानकारी नगराएर यात्रुहरूलाई गुमराहमा राखिएको छ ।
यसै सम्बन्धमा हामीले विस्तृतरुपमा बुझ्न उपभोक्ता हक हित संरक्षणमा कार्यरत सामाजिक संस्था प्रक्रिया नेपालका अध्यक्ष कहरसिंह खड्कासँग बुझ्दा उक्त संस्थाले हालसालै नियमन गर्ने सरकारी निकाय तथा केवलकार कम्पनीहरूसँग यात्रुको दुर्घट्ना बीमाको विषयमा आवश्यक जानकारी लिएको बताउनु भयो । उहाँले भन्नुभयो, “ती दुवै केवलकार कम्पनीहरूले ५ लाख सम्मको यात्रु दुर्घट्ना बीमा गरेको जानकारी हामीलाई गराए । विगतमा केवलकार यात्रुको दुर्घट्ना बीमा रकम एक लाख मात्र थियो । हाल पाँच लाखसम्म पुर्याइएको छ । तर पनि यो अरु देशको तुलनामा धेरै थोरै हो ।
मनकामना केवलकारले भने यात्रु बीमा सम्बन्धि उल्लेख गरिएको टिकटको ढाँचासमेत हामीलाई उपलब्ध गराउँदै निकट भविष्यमै उक्त टिकट जारी गरी यात्रुहरूलाई जानकारी गराउने बताएको छ । यात्रु दुर्घट्ना बीमाको बारेमा टिकटमै किन नखुलाएको भनि चन्द्रागिरी हिल्स लि. सँग जिज्ञासा राख्दा, सो गरिराख्न आवश्यक नपर्ने र कुनै दुर्घट्ना भएमा टिकटमा उल्लेख भएको शर्त बमोजिम नै हुने जवाफ त्यहाँका कर्मचारिले दिए ।
स्मरण रहोस्, चन्द्रागिरी हिल्स लि.जारी गरेको टिकटमा उल्लेख भएका शर्तहरुमा यात्रु दुर्घट्ना बीमा सम्बन्धि कुरा खुलेको छैन । हामी आवश्यक कानूनी पहल गरेर भएपनि टिकटमै यात्रुको दुर्घट्ना बीमा गरिएको कुरा उल्लेख गर्नलगाउने छौं । केवलकार सेवा प्रदान गर्ने कम्पनीहरूले यात्रुको दुर्घट्ना बीमा गरिएको जानकारी आमउपभोक्ताहरूलाई दिनुपर्छ । सो कुरा टिकटमै खुलाउनु पर्छ । देशमा केवलकार संचालन सम्बन्धी कुनै ऐन–कानून नभएर पनि अप्ठ्यारो स्थिति छ” खड्काले भन्नुभयो ।
“विगतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतबाट केवलकार संचालनका लागि पर्यटन उद्योगको रुपमा दर्ता तथा संचालन अनुमति प्रदान गरिएको थियो । हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अधिकार क्षेत्रभित्र परेको छ । दुर्घट्ना बीमाको बारेमा केवलकार सेवा प्रदायकहरुलाई टिकटमै उल्लेख गर्न किन नलगाएको भनि हामीले प्रश्न गर्दा विगतमा के कसो भयो थाहा नभएको र हाल केवलकार संचालनको लागि ‘केवलकार संचालन कार्यविधि २०७३’ बनाएर स्वीकृतिको लागि पहल भइरहेको सम्बन्धित निकायले हामीलाई बताएका छन्” उहाँले भन्नुभयो ।
नेपालको भौगोलिक बनोट हेर्दा केवलकार संचालनको लागि अनुकूल छ । हिमाली तथा पहाडी क्षेत्र केवलकार संचालनका लागि उपयुक्त स्थान हुन् । सरकारले केवलकार संचालनलाई प्राथमिकतामा पनि राखेको छ । त्यसैले नेपालमा केवलकार संचालन पर्यटन प्रवद्र्धनका लागि सहयोगी हुनसक्छ । तर सरकारसँग केवलकार निर्माण तथा संचालन सम्बन्धी अहिलेसम्म कुनै नीति, नियम, ऐन–कानून समेत छैन । उक्त क्षेत्र लगाम बीनाको घोडा जस्तो गरेर चलिरहेको छ । सम्बन्धित निकायले कार्यविधि बनाएर तत्कालको आवश्यत्ता पुरा गरिरहेको छ । नीति नियमको अभावले गर्दा नै केवलकार संचालक कम्पनीहरूले आफूखुसी गरिरहेका छन् । अतः सरकारले बेलैमा आवश्यक कानून बनाइ यस क्षेत्रको संचालन तथा नियमन गर्न जरुरी छ ।