नौमती बाजाको उद्यान

कृष्ण दवाडी । कास्की, २८ असार : कास्कीको माछापुच्छ«े गाउँपालिका–६ धितालस्थित डाँडापोखरीमा निर्माण गरिएको नौमती बाजाको उद्यानले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ ।

उत्सव, शुभकार्य तथा विभिन्न चाडपर्वमा बजाइने नौमती बाजाको प्रवद्र्धन गर्ने र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले सो उद्यान बनाइएको हो । त्यहाँ प्रवेश गर्ने वित्तिकै शुरुमा दुईवटा सनई रहेका छन् । त्यसपछि दाहिनेतर्फ ट्याम्को, दमाहा र झ्याली छन् । देव्रेतर्फ ढोलकी, दमाहा र झ्याली छन् । अन्तिममा दुईवटा नरसिङ्गा राखिएको छ ।

उद्यानमा राखिएका बाजा ३०० केजी तामाको प्रयोगबाट तीन महीनाको अवधिमा मुस्ताङका कालीगढ प्रेम विकले निर्माण गर्नुभएको थियो ।

ठूलो आकारको नरसिङ्गा बजाउँदा टाढैसम्म सुन्न सकिन्छ । उद्यानको संरक्षका लागि तारजाली लगाइएको छ भने तलपट्टी सुन्दर पोखरी छ । मूलसडकबाट केही परको डाँडामा देखिने सुन्दर र आकर्षक बाजाको उद्यानले सो बाटो हुँदै गन्तव्यमा पुग्ने गाडीबाट झरेर अवलोकन गर्ने गरेको स्थानीयवासी बताउँछन् ।

मर्दी हिमाल पदयात्रा तथा पर्यटकीय धम्पुस गाउँमा जाने स्वदेशी तथा विदेशी पर्यटक उद्यानबाट लोभिएर केही समय अवलोकनका लागि पुग्ने गरेका छन् । बाजासहितको उद्यान नयाँ आकर्षण भएकाले पनि होमस्टेमा पुग्नेहरु पनि रमाउने गरेको र विस्तारै चहलपहल बढेको धिताल पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष सुनिल दाहालले बताउनुभयो ।

समितिले त्यहाँ रहेको २० रोपनी सार्वजनिक जमीनलाई उद्यानको रुपमा विकास गरेर पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारेको छ ।

अध्यक्ष दाहालका अनुसार तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीसँग पर्यटन प्रवद्र्धन गर्ने योजनाको लिएर जाँदा बाजासहितको उद्यान निर्माण गर्ने प्रस्ताव सहर्ष स्वीकार गरेर रु १५ लाख बजेट विनियोजन गर्नुभएको थियो । सङ्घीय सरकारको सोही रकमबाट चालू वर्षमा सो उद्यान निर्माण गरिएको हो । गाउँपालिकाले भने त्यसमा प्राविधिक सहयोग गरेको थियो । उद्यानसँगैको पोखरी संरक्षणका लागि जलाधार संरक्षण कार्यालयले रु तीन लाख र गाउँपालिकाले रु एक लाख सहयोग गरेको छ ।

समितिका अध्यक्ष दाहालले उद्यानलाई गाउँपालिकाको एक मुख्य पर्यटकीय गन्तव्य बनाइने बताउँनुभयो । उहाँले भन्नुभयो, “नौमती बाजाको प्रवद्र्धन गर्दै यसलाई गाउँपालिकाको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दैछौँ ।”

पोखराबाट ४५ मिनेटको दुरीमा पुगिने यस ठाउँबाट अन्नपूर्ण हिमशृङ्खला, पोखरा बजार तथा गाउँपालिकाका विभिन्न ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । गण्डकी प्रदेश सरकारले पनि आन्तरिक भ्रमण वर्षको अवसरमा होमस्टेमा पर्यटकीय पूर्वाधार निर्माणमा पूँजीगत अनुदान उपलव्ध गराएसँगै यहाँ होमस्टेका लागि रु. ३० लाख बजेट परेको थियो ।

ह्याङजाकोट, भेडाबारी र मर्दीहिमाल सामुदायिक गरी यहाँका १०० घरमा होमस्टे सञ्चालन गरिएको छ । प्रदेश सरकारको रु एक करोड ५० लाख बजेटबाट पोखरा महानगरपालिका–२५ मेलबोटबाट अस्ताम हुँदै धितालसम्मको सडक स्तरोन्नति शुरु गरिएपछि पर्यटकलाई सहज भएको छ ।

अस्तामका १० घरमा पनि व्यक्तिगत रुपमा घरवास सञ्चालन गरिएको छ भने पर्यटकको सुविधाका लागि यहाँ सुविधासम्पन्न होटल तथा रिसोर्टहरु समेत छन् । गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले बाजाको उद्यानबाट पर्यटकको बसाइँ लम्ब्यायाउनुका साथै मौलिक संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने बताउनुहुन्छ ।

राष्ट्रको पहिचानको रुपमा रहेको र विस्तारै लोप हुँदै जाने अवस्थामा रहेको नौमती बाजाको बारेमा नयाँ पुस्तालाई जान्ने अवसर मिल्ने भनाइ उहाँको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.