बेलिब्रिज झिकियो, तराई जोड्ने मुख्य नाका बन्द

केदार मगर । खोटाङ, २४ जेठ : सगरमाथा राजमार्गको फोक्सिङटारस्थित सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएपछि खोटाङबाट तराईका जिल्ला आवतजावत गर्ने मुख्य नाका बन्द भएको छ । वर्षा शुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएपछि तराईका जिल्ला जोड्ने नाका बन्द भएको हो ।

हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरिएको अस्थायी बेलिब्रिज निकालिएसँगै दिक्तेल–गाईघाटबीचको सीधा यातायात सम्पर्क छ महीनाका लागि बन्द भएको छ । फोक्सिङटारको बेलिब्रिज निकालिएपछि यातायातका साधन वारीको वारी र पारीको पारी भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

गत मङ्सिरदेखि सञ्चालनमा ल्याइएको खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारको अस्थायी बेलिब्रिज गत सोमबार निकालिएपछि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगरलगायतका शहर जाने छोटो बाटो बन्द भएको छ ।

फोक्सिङटारमा पक्की पुल नभएपछि पूर्वी शहर जानआउन एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता शुरु भएको छ । फोक्सिङटारमा पक्की पुल निर्माण नहुँदा विकल्पमा बेलिब्रिज राख्ने गरिएको हो । खोटाङ भित्रिदा वा बाहिरिदा फोक्सिङटारमा सुनकोशी र जयरामघाटमा दूधकोशी पार गर्नुपर्ने बाध्यता छ । बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक रु ८० लाखको हाराहारीमा राज्यकोषको रकम खर्च हुँदैआएको छ ।

फोक्सिङ्टारको अस्थायी बेलिब्रिज हटाइएसँगै यातायातका सवारीसाधन आवतजावत नहुँदा जिल्लामा दैनिक उपभोग्यवस्तु ढुवानी तथा निर्माण सामग्रीको मूल्यमा समेत प्रत्यक्ष असर परेको छ । पूर्वी शहरबाट भित्रिने सिमेन्ट, रडजस्ता निर्माण सामग्री कटारी–घुर्मी हुँदै ल्याउनुपर्दा ढुवानी मूल्य वृद्धि भएको व्यापारीको भनाइ छ ।

गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो साढे रु तीन देखि ४ मा जिल्ला भित्रिने निर्माण सामग्री कटारी हुँदै जयरामघाटबाट भित्र्याउँदा प्रतिकिलो रु साँढे ५ मा भित्रिने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका महासचिव मनोज बजिमयले बताउनुभयो । फोक्सिङटारमा पक्की पुल निर्माणको कामले अपेक्षित गति लिन नसक्दा विकल्पमा चार वर्षदेखि अस्थायी बेलिब्रिज राख्ने गरिएको हो ।

खोटाङको खोटेहाङ, जन्तेढुङ्गा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयवासीले समेत शहर जाने र उपभोग्य सामान ल्याउने क्रममा फोक्सिङटारको बेलिब्रिज प्रयोग गर्दै आएका छन् । निर्माण सम्पन्न गर्ने समय सकिँदा पनि फोक्सिङटारमा निर्माणाधी पक्की पुलको फाउण्डेसन मात्र तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal