सारङ्गी रेट्दै, जीवन धान्दै गन्धर्व

बेनी नगरपालिका २ बगरफाँटस्थित गन्धर्व स्थानीय बाजा सारङगीमा रेटेर दुःख, पीडा,दुर्घटनालाई गीत बनाई घरको दैलोमा मिठो धुनमा लोकगीत गाउँदै विष्णुबहादुर गन्धर्व । तस्वीर: ध्रुर्बसागर शर्मा, म्याग्दी

रामबहादुर थापा । बागलुङ, २४ जेठ : चरीले रनवन डुलेझैँ भद्र र विष्णुबहादुर गन्धर्व गाउँघर डुल्छन् । लोकलयमा जनजीवनका सुखदुःख, संवेदना सुसेल्छन् । जसरी वनतिर चरी चिरबिर गर्छन् ।

यसपालि झरीले गन्धर्व जोडीको यात्रा छोटियो । चार दिनअघि बागलुङ नगरपालिका–१२, अमलाचौरस्थित घरबाट निस्केका उनीहरु बिहीबार घर फर्के । “घम्जा गाउँ गएका थियौँ”, भद्रले भन्नुभयो, “झरी प¥यो, धेरै नघुमी फर्कियौँ ।”

काठखोला गाउँपालिका–३ मा धम्जा गाउँ पर्छ । चिप्लो बाटो हुँदै झरी छलेर घरघर पुग्न गाह्रो भएको भद्रले राससलाई सुनाउनुभयो । घर फर्कनुपूर्व बागलुङ बजारमा भेटिनुभएका उहाँले दिन घमाएपछि फेरी गाउँ जाने बताउनुभयो । भद्र र विष्णुबहादुर छिमेकका दाजुभाइ पर्छन् ।

सारङ्गी रेट्दै जुन गाउँ पुग्दा पनि उनीहरुसँगै हुन्छन् । “सात वर्षको उमेरबाट सारङ्गी बजाउन सिकेको हुँ”, ५५ वर्षीय विष्णुबहादुरले भन्नुभयो, “हाम्रो खेती नै यही हो ।” सानैमा बुबा बितेपछि मामाघर बस्नुभएका उहाँले मामा मतिलालसँग सारङ्गी सिक्नुभएको थियो ।

श्रीमती, एक छोरी र छोरासहितको परिवारको जीविका विष्णुबहादुरकै सारङ्गी बजाउने कलामा टिकेको छ । एक छोरीको विहेवारी भइसकेको छ । “घरखर्च, छोराछोरीको पढाइ जेनतेन धानिन्छ”, विष्णुबहादुरले भन्नुभयो । खेतीपाती गर्न गन्धर्व परिवारलाई जग्गा अभाव छ ।

“हाम्रो पुख्र्यौली चलन र पेशा नै यही हो”, ६२ वर्षीय भद्रबहादुरले भन्नुभयो, ‘वर्षभरी गाउँघर डुल्दै, गाउँदै जीवन चलेको छ ।” गाउँघर पुग्दा गन्धर्वलाई अन्नपात र नगद दिने चलन छ । अन्न बोकेर हिँड्न गाह्रो भएपछि बढीजसो नगद दिन्छन् ।

“लाहुरे आएको घर र दानी व्यक्तिले राम्रै पैसा दिन्छन्”, भद्रबहादुरले भन्नुभयो, “हप्तादिन घुम्दा दुई, चार हजार हात पर्छ ।” उहाँलाई पनि श्रीमती रम्बासहित एक छोरा र छोरीको जिम्मेवारी छ । दुई छोरीको विहेवारी भइसकेको छ ।

अमलाचौरमा १८ गन्धर्व परिवार छन् । गन्धर्व बस्तीलाई गायकथर भनेर पनि चिनिन्छ । पुख्र्यौली गायन पेशा अङ्गालेका चार÷पाँच जना मात्र छन् । गन्धर्व परिवारका अधिकांश युवा रोजगारीमा विदेश छन् ।

नयाँ पुस्तामा गायन र सारङ्गी वादनको सीप हस्तान्तरण हुन नसके गन्धर्व जातिको पेशा नै हराउने चिन्ता छ । आफ्नो १८ वर्षीय छोरा सन्दीपले सारङ्गीमा रुची नदेखाएको विष्णुबहादुरले बताउनुभयो । “नयाँ युवालाई चासो नै छैन”, उहाँले भन्नुभयो ।

नेपाली मौलिक बाजा सारङ्गी नै लोप भएर जाने हो कि भन्ने चिन्ता गन्धर्व समुदायमा छ । समाज र जीवनका विविधतालाई शब्दमा टिपेर सारङ्गीमा लय भर्ने गन्धर्वहरुको कलागत पेशा जोगाउनु चुनौतीपूर्ण देखिन्छ ।

भद्र र विष्णुबहादुर सारङ्गी बजाउँदै बागलुङ, पर्वत र म्याग्दीको गाउँगाउँ पुग्छन् । सारङ्गी रेट्दै गाउँघर चहार्दाका तीतामिठा अनुभव उहाँहरुसँग छन् । गाएरै जीविका धान्नेहरु अहिले पनि सारङ्गीलाई नै ‘खेती र जागिर’ मान्छन् ।

परिवार धान्ने आधार नै सारङ्गी बनेको छ । जीवन, जगत्, ईश्वरीय महिमा, युद्ध, प्राचीन कथा, घटना, दुर्घटना आदिलाई शब्दमा टिपेर सारङ्गीमा लयबद्ध गर्दै गन्धर्वहरु गाउने गर्छन् ।

घटना विशेषलाई कथानक बनाउने र त्यसलाई सारङ्गीको तालमा गाउने गन्धर्वहरुको विशेषता हो । यथार्थपरक र मार्मिक गीतहरुलाई ‘कर्खा’को रुपमा गाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal