सामुदायिक वनको आगलागीमा परेर तीनको मृत्यु

सल्यान, ३१ वैशाख : गर्मीयाम शुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा तीनको मृत्यु भएको छ ।

जङ्गलको आगो घरमा आउन थालेपछि निभाउने प्रयास गर्दै गर्दा छत्रेश्वरी गाउँपालिका–६ सिमपानीका ५५ वर्षीया पुन्टी बोहरा र शारदा नगरपालिका–९ दुवेरीका ६० वर्षीय गोवर्धन पुनको यही वैशाख २८ गते घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीमा गम्भीर घाइते भएका छत्रेश्वरी–६ सिमपानीका ४० वर्षीय खगेन्द्र बोहराको उपचारका क्रममा काठमाडौँमा आज मृत्यु भएको प्रहरीले जनाएको छ । अहिलेसम्म आगलागीमा परेर छत्रेश्वरी–७ मा अन्नपात लत्ता कपडासहित आठ घर, कालीमाटी गाउँपालिका–१ मा चार घर जलेर नष्ट भएका छन् ।

जिल्लाका सुरक्षा निकाय तथा स्थानीयले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन सकेको छै्रन । आगो निभाउन जिल्लामा पर्याप्त साधन उपलब्ध नभएकाले आगो नियन्त्रणमा आउन नसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीले बताउनुभयो ।

आगो लगाउने कार्यमा संलग्न भएको भन्दै एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । शारदा–२ मा रहेको चन्द्रपाला सामुदायिक वनमा आगो लगाउँदै गर्दा सोही ठाउँका रामबहादुर वलीलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्लाका कपुरकोट, छत्रेश्वरी, कालीमाटी गाउँपालिका र शारदा नगरपालिका भित्रका सामुदायिक वनमा भिषण आगलागी भइरहेको डिभिजन वन कार्यालयका अधिकृत थीरबहादुर कार्कीले जानकारी दिनुभयो । “जिल्लाका विभिन्न स्थानमा आगो लागेपछि वन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयले प्रयास गरिरहेका छन्, हावाहुरी र सल्लाका रुख बढी भएकाले आगो नियन्त्रण गर्न गाह्रो भएको छ”, उहाँले भन्नुभयो ।

हालसम्म आगोले जिल्लाका ११ सामुदायिक वनको तीन हजार हेक्टर बढी क्षेत्रफल वन सखाप भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal