१६ वर्षीय किशोरको हिरासतमा मृत्यु भएपछि मानव अधिकारकर्मीद्वारा ध्यानाकर्षण

बनियानी, ६ वैशाख : चोरीको अभियोगमा पक्राउ परेका मेचीनगर–६ का १६ वर्षीय किशोर किरण कार्की ढोलीको हिरासतमा मृत्यु भएपछि यहाँका मानव अधिकारकर्मीले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

झापाको विर्तामोडमा मानव अधिकारकर्मीको टोलीले पत्रकार सम्मेलन गरी घटनाका विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । गत चैत २९ गते रु १० हजार चोरीको अभियोगमा किरणलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेको तीन दिनपछि वैशाख २ गते किरण हिरासतको शौचालयमा झुण्डिएका अवस्थामा फेला परेका थिए ।

प्रहरीले किरणले आत्महत्या गरेको दाबी गरे पनि घटना शङ्कास्पद भएको मानव अधिकारकर्मीको दाबी छ । “प्रहरीद्वारा घटनालाई गुपचुप गराउनु, प्रमाण नष्ट गर्ने प्रयास गरिनु शङ्कास्पद छ”, मानव अधिकारकर्मी अर्जुन बस्नेतले भन्नुभयो, “हिरासतमा झुण्डिएर आत्महत्या गरिएको भनिएका कार्कीको शव परिवार र आफन्तलाई पनि जानकारी नदिइ सोही रात शव परीक्षणका लागि लगिनुका कारण के हो ?”

प्रहरीले वैशाख ३ गते बिहान १ बजे मृतकका बुबा रमेश कार्की डोलीलाई छोराले आत्महत्या गरेको भन्दै शव बुझ्न बोलाएको थियो । “बालकलाई सामूहिक थुनामा राख्नु नै गल्ती देखिन्छ, कस्टडीभित्र राखिएको कुरा भएकाले यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्छ”, मानव अधिकारकर्मी नरेश खरेलले भन्नुभयो, “यो प्रहरीको त्रुटिपूर्ण व्यवहार देखिन्छ, अब उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कारवाही पीडितलाई न्याय र क्षतिपूर्ति दिनुपर्छ ।”

राष्ट्रिय मानव आयोगलाई जाहेरी पठाइसकेको उहाँले बताउनुभयो । “जाहेरीका आधारमा राष्ट्रिय मानव अधिकार आयोगले पनि तुरुन्तै अनुसन्धान शुरु गर्दैछ”, उहाँले भन्नुभयो । दलित अधिकारकर्मी टीकाराम मङ्ग्रातीले घटना नियोजित भएको दाबी गर्नुभयो । “प्रहरी हिरासतमै घटना भएकाले प्रहरीले अनुसन्धान गर्ने कुरा शङ्कास्पद छ, विश्वास गर्ने ठाउँ कम छ”, उहाँले भन्नुभयो, “अधिकारसहितको छानबिन टोली बनाएर घटनाको सत्यतथ्य बाहिर आउनुपर्छ, दोषीलाई कारवाही गर्नुपर्छ, पीडित पक्षले न्याय पाउनुपर्छ”, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्काको निलम्बनको मागसमेत गरिएको उहाँले बताउनुभयो ।

कानूनतः कसैले आत्महत्या गरेको घटनामा प्रकृति मुचुल्का गर्नुपर्ने र त्यसमा परिवारका सदस्यलाई समेत साक्षी राख्नुपर्ने भए पनि प्रहरीले त्यस्तो नगरेको मानव अधिकारकर्मी कविता शर्माले बताउनुभयो । “प्रचलित कानूनविपरीत कार्कीलाई हिरासतमा राखेको देखिएको छ”, उहाँले भन्नुभयो, “१८ वर्षमुनिका बालबालिकालाई अन्य अरोपीसँग हिरासतमा राख्न मिल्दैन ।”

प्रहरीले किरणको उमेर र ठेगानासमेत लुकाउने प्रयास गरेको थियो । प्रहरीले किरण १९ वर्षको भएको र भारतीय नागरिक भएको जनाउँदै आएको छ । किरण पक्राउ परेको तीन दिन बित्दासमेत अदालतबाट म्याद थप भएको थिएन ।

मानव अधिकारकर्मी विष्णुप्रसाद खरेल, अर्जुन बस्नेत, कविता शर्मा, रुपक खनाल, दीपक दास, चन्द्र चुडाल, नरेश खाती, राम मैनाली, कुमार चुडाल र रञ्जन धमलाले घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारवाही र पीडितलाई न्याय दिन माग गरेका हुन् । उनीहरुले मानव अधिकारकर्मीलाई समेत समावेश गरेर छानबिन समिति गठन गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले घटनाको सत्यतथ्य छानविनका लागि आन्तरिक छानविन समिति गठन गरेको छ । जिप्रका झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको हो ।

जिप्रका झापाका प्रमुख प्रहरी उपरीक्षक निदेशराज मैनालीले घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन गरिएको बताउनुभयो । “घटनाको वास्तविकता पत्ता लगाउने समिति गठन गरिएको हो”, उहाँले भन्नुभयो, “अब उप्रान्त यस्तो घटना हुन नदिन के गर्न सकिन्छ र कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेबारेमा सुझावसमेत दिनेछ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal