युएन मिसनमा खटिएको प्रहरी टोलीलाई बिदाइ

काठमाडौँ, ६ वैशाख : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसनमा खटिएको टोलीलाई बिदाइ गर्नुभएको छ ।

महानिरीक्षक खनालले १६ औँ समूहमा खटिई जाने टोलीको कन्टिनजेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीलाई बिहीबार प्रहरी प्रधान कार्यालयमा नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गर्नुभयो ।

बिदाइ कार्यक्रममा महानिरीक्षक खनालले संयुक्त राष्ट्रसङ्घको तर्फबाट शान्तिदूतका रुपमा खटिने भए पनि मिसनमा खटिने प्रहरी कर्मचारीले देश र सङ्गठनको प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रप्रति समर्पणभावसँगै दिएको जिम्मेवारी उच्च व्यवसायिकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।

महानिरीक्षक खनालले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा स्थानीय रीतिरिवाज, परम्परा र मौलिकताप्रति सदैव संवेदनशील रहनुपर्ने बताउँदै मिसनमा रहँदा उच्च अनुशासनमा रहनुपर्ने उल्लेख गर्नुभयो । उहाँले आफ्नो ज्ञान, सीप एवं कौशलको पूर्ण सदुपयोग गर्दै लगनशील भई आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा युएन महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विभूतिराज पाण्डेले १८० जनाको प्रहरी टोली वैशाख ९ र १६ गरी दुई चरणमा मिसन जान लागेकोे जानकारी दिनुभयो ।

मिसनमा प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी नायब उपरीक्षक नौ, प्रहरी निरीक्षक तीन, प्रहरी नायब निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४८, प्रहरी हवल्दार ७६, प्रहरी जवान पाँच र प्रहरी कार्यालय सहयोगी ६ जना रहनुभएको छ ।

ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता

सरकारले काठमाडौँ उपत्यकामा काम गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने भएको छ । धुलो, धुँवा र अन्य कार्यालयमा भन्दा बढी समय सेवामा खटिनुपर्ने भएकाले ट्राफिक प्रहरीलाई सरकारले भत्ता दिन लागेको हो । भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका–२०७५ समेत स्वीकृत भएको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीमा कार्यरत कार्यालय सहयोगी, सिपाही र हवल्दारका लागि ४० प्रतिशत, प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकका लागि २० प्रतिशत र प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकका लागि १० प्रतिशत भत्ता पाउने व्यवस्था भएको जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले आफ्नो तलबको आधारमा भत्ता पाउनेछन् । सरकारले विसं २०६९ मा ट्राफिक प्रहरीले उठाएको राजश्वको १५ प्रतिशत कमिसन ट्राफिक प्रहरीलाई दिने निर्णय गरेपछि आर्थिक वर्ष २०७०÷७१ मा मात्र ट्राफिक प्रहरीले अतिरिक्त भत्ता पाएका थिए । ट्राफिक प्रहरीले भत्ताकै लागि सवारी चालकसँग जथाभावी पैसा लिए भन्ने व्यापक गुनासो आएपछि सरकारले विसं २०७४ जेठ १५ गते उक्त कमिसन हटाएर अतिरिक्त भत्ता दिने निर्णय गरेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सरकारले ट्राफिक प्रहरीलाई अतिरिक्त भत्ता दिने निर्णयसँगै ट्राफिक प्रहरीको मनोबल बढेको बताउनुभयो । “जो धुवाँ, धुलो, घाम, पानी नभनी सडकमा खटिन्छन् त्यसलाई भत्ता दिने निर्णय गरेर सरकारले राम्रो काम गरेको छ”, उहाँले भन्नुभयो । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा एक हजार ८३ दरबन्दी भए पनि एक हजार ४०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.