युनामिड मिसनमा जाने प्रहरी कर्मचारीको बिदाइ

काठमाडौँ, ५ वैशाख : संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसन १६औँ समूहमा जाने प्रहरी कर्मचारीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज बिदाइ गर्नुभएको छ । उहाँले उक्त टोलीका कन्टिनजेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै प्रहरी कर्मचारीलाई बिदाइ गर्नुभयो ।

मिसनमा खटिने प्रहरी कर्मचारीले देश र सङ्गठनकोसमेत प्रतिनिधित्व गरेर जाने भएकाले संयुक्तराष्ट्र सङ्घको उद्देश्यअनुसार दिएको जिम्मेवारीसहित उच्च व्यावसायिकता प्रदर्शन गर्न प्रहरी महानिरीक्षक खनालले निर्देशन दिनुभयो ।

आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा स्थानीय रीतिरिवाज, परम्परा र मौलिकताप्रति संवेदनशील रहन आग्रह गर्दै प्रहरी महानिरीक्षक खनालले मिसनमा रहँदा उच्च अनुशासनमा रहनु सुझाव दिनुभयो । आफ्नो ज्ञान, सीप एवं कौशलको पूर्ण सदुपयोग गर्दै लगनशील भई आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

समारोहमा मिसनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विभूतिराज पाण्डेले प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी नायब उपरीक्षक नौ, प्रहरी निरीक्षक तीन, प्रहरी नायब निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४८, प्रहरी हवल्दार ७६, प्रहरी जवान पाँच र प्रहरी कार्यालय सहयोगी छ जना गरी १८० मिसन टोलीमा रहेको जानकारी दिनुभयो । उनीहरु यही वैशाख ९ र १६ गते त्यसतर्फ प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.