राउटेलाई सामान्य जीवनमा ल्याउन जोड

काठमाडौँ, ८ चैत : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि अहिलेको सरकारसँग स्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले यहाँ आज आयोजना गरेको ‘आदर्श दम्पती तथा युवा सम्मान’ कार्यक्रममा उहाँले मुलुकमा ठूलो राजनीतिक परिवर्तन भए पनि आर्थिक र सांस्कृतिक रुपान्तरण हुन नसकेकाले कम्युनिष्ट नेतृत्वको सरकारले सामाजिक रुपान्तरण गर्ने विश्वासका साथ जनताले दुई तिहाइको सरकार गठन गरेको विचार व्यक्त गर्नुभयो ।

विविधताले भरिएको मुलुकमा समाज विकासमा दाम्पत्य जीवन महत्वपूर्ण हुने बताउँदै उहाँले भन्नुभयो, “स्वजातीय तथा अन्तर्जातीय विवाह अहिले प्रचलनमा छ, समाजलाई अग्रगतितर्फ लैजान अन्तर्जातीय विवाहको महत्व छ ।”

राउटे प्रतिष्ठानलाई रु ५० हजार 

पार्टीका नेता वामदेव गौतमले जनताले अहिले अग्रगति र प्रगतिको अपेक्षा गरे पनि त्यसतर्फ सरकार अगाडि बढ्न नसकेको भनी चिन्ता व्यक्त गर्नुभयो । ऊर्जामन्त्री वर्षमान पुनले २१ औँ शताब्दीमा पनि राउटे जाति जङ्गलमा रहेको अवस्थामा उनीहरुलाई सामाजिक जीवनमा ल्याउनका लागि सरकार र गैरसरकारी संस्थाबीच समन्वयको खाँचो औँल्याउनुभयो । उहाँले उक्त प्रतिष्ठानलाई रु ५० हजार सहयोग गरिने घोषणा पनि गर्नुभयो ।

नेकपाकी नेत्री अष्टलक्ष्मी शाक्यले राउटे जाति लोपोन्मुख बन्दै गएकाले यस्ता सिमान्तकृत वर्गको संरक्षणका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका संरक्षक भद्राकुमारी घलेले निःस्वार्थ भावनाले गरिने समाजसेवाका माध्यमबाट राष्ट्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले कर्णाली र सुदूरपश्चिमका विभिन्न जङ्गलमा बस्दै आएका राउटेलाई सामान्य जीवनमा फर्काउन आफ्नो संस्थाले व्यावसायिक सीप र तालीम उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा आदर्श दम्पतीका रुपमा गौतम र तुलसी थापा, अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य, वर्षमान पुन र ओनसरी घर्ती तथा मदन सत्याल र नर्मदेश्वरी सत्याललाई सम्मान गरिएको थियो । त्यसैगरी डा शेखर गुरुङ, डा अनिलकुमार भट्टराई, डा सरोज कार्की, डा सुनिलकुमार पोखरेललगायतलाई युवा सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.