अपाङ्ग भएका व्यक्तिलाई सेवा प्रदान

काठमाडौँ, १० फागुन : राष्ट्रिय अपाङ्ग कोषले ४१९ अपाङ्ग भएका व्यक्तिलाई सामाग्री प्रदान गरेको छ ।

कोषले चालु आर्थिक वर्षको ६ महीनामा फिजीयोथेरापी/अङ्कुपेशन थेरापी, कृतिम हातखुट्टा, वैशाखी, सेतो छडी, क्यालिपरलगायतका सामाग्री उत्पादन गरी प्रदान गरेको हो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९८१ मा विश्वभर अपाङ्ग दिवस मनाइरहँदा नेपालमा पनि आवश्यकता महसुस गरी स्थापना भएको कोषले अपाङ्ग व्यक्तिलाई चाहिने सामाग्रीसमेत उत्पादन गर्दै आएको छ ।

कोषका प्रशासन प्रमुख सुनिता पौडेल वार्षिक रुपमा एक हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिलाई कोषले सामाग्री प्रदान गर्दै आएको बताउनुहुन्छ । “केन्द्र र घुम्ती शिविरमार्फत अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गर्दै आइरहेका छौँ,”उहाँ भन्नुहुन्छ ।

कोषले गत वर्षमात्र गोरखा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवनमा घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको थियो । अधिकाशं अपाङ्गता भएका व्यक्ति केन्द्रमा आउन नसक्ने भएकाले प्रदेशस्तरमा समेत कोष लैजानुपर्ने आवश्यकता देखिएको प्रशासन प्रमुख पौडेल बताउनुहुन्छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाजकल्याण परिषद्अन्तर्गत रहेको राष्ट्रिय अपाङ्ग कोष समाज कल्याण ऐन, २०४९ अनुसार सञ्चालनमा रहेको छ ।
वार्षिक पाँचदेखि सात घुम्ती शिविरमार्फत सेवा प्रदान गर्दै आएको कोषले भूकम्पप्रभावित जिल्लामा रहेका अपाङ्गलाई लक्षित गरी आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको छ । विभिन्न घटनाका कारण अपाङ्गता बढ्ने क्रम बढ्दो भए पनि स्रोत साधनको अभाव हुँदै गएको छ ।

यस्तै, कोषले प्रतिभाशाली अपाङ्ग भएका व्यक्तिलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.