राष्ट्रियसभाका सांसदद्वारा समावेशी बजेट ल्याउन माग

काठमाडौँ, ३० वैशाख : आगामी आर्थिक वर्षको बजेटले अपाङ्गता भएका व्यक्ति, जनजाति, दलित र महिलालगायतलाई प्राथमिकतामा राख्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको आर्थिक वर्ष २०७६÷०७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद रमेशप्रासद यादवले मधेशी, जनजाति, दलित समुदायलाई उपेक्षा गरेर देश विकास हुन नसक्ने बताउनुभयो । जनसङ्ख्याका आधारमा बजेट विनियोजन हुनुपर्ने उहाँको भनाइ थियो ।

सांसद खेमराज नेपालीले विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताले उज्यालो देखाएको दाबी गर्नुहुँदै देशमा दिगो विकास, शान्ति, समृद्धि र स्थायित्वलाई बजेट विनियोजनले समेटेको बताउनुभयो ।

सांसद प्रकाश पन्थले जनतालाई अनूभूति हुने गरी बजेट आउनुपर्ने बताउनुहुँदै सुशासन कायम गर्ने बजेटको प्रमुख लक्ष्य हुनुपर्ने बताउनुभयो । अपाङ्गता भएका बालबालिका अझै पनि विद्यालय बाहिर रहेकाले प्रभावकारी कार्यक्रम ल्याउन उहाँले माग गर्नुभयो । अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र सहयोगी सामग्रीका बारेमा प्रस्ट कार्यक्रम आउनुपर्ने सांसद पन्थको भनाइ थियो ।

सांसद रामचन्द्र राईले कृषिमा सिँचाइ, मलको व्यवस्थालाई बजेटले समावेश गर्नुपर्ने बताउनुभयो । सिमान्तकृत आदिवासी जनजातिलाई राज्यको मूल प्रवाहमा ल्याउने गरी बजेट ल्याउनुपर्ने उहाँको भनाइ थियो । सांसद रामप्रीत पासवानले वियोजन विधेयकको नाममा पुरानैलाई निरन्तरता दिइएको बताउनुहुँदै वैदेशिक रोजारीमा जानेलाई ऋण दिने व्यवस्था गर्नुपर्ने माग राख्नुभयो ।

बजेटमा राष्ट्रसेवकलाई प्रोत्साहन दिनुपर्ने

राष्ट्रसेवकलाई प्रोत्साहन र शिक्षा क्षेत्रलाई प्राथमिकतामा पार्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी छलफलमा भाग लिँदै सांसद कोमल ओलीले राष्ट्रसेवक प्रोत्साहित हुनेगरी बजेट ल्याइनुपर्नेमा जोड दिनुभएको हो ।

उद्योगमा र पूर्वाधार विकासमा लगानी बढाउने गरी बजेट आउनुपर्ने उहाँको भनाइ थियो । सांसद ठगेन्द्रप्रकाश पुरीले विगतको अनुभव र वर्तमानलाई आत्मसात् गरी बजेटले शिक्षा क्षेत्रलाई प्राथमिता दिनुपर्ने बताउनुभयो । माध्यमिक विद्यालय तहको शिक्षा आवासीय र निःशुल्क हुनुपर्ने उहाँको भनाइ थियो ।

सांसद धनाकुमारी खतिवडाले दु्रतगतिको विकासका लागि‘कनेक्टिभिटि’ लाई प्राथमिकता दिइनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय गौरवका आयोजनामा पूँजीगत लगानी बढाउनुपर्नेमा उहाँको सुझाव थियो ।

सांसद जीवन बुढाले तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने र जनसङ्ख्यासँगै भूगोल र योगदानका आधारमा बजेट विनियोजन गरिनुपर्ने बताउनुभयो ।

सांसद डा विमला राई पौड्यालले नीति तथा कार्यक्रममा धेरै तालमेल मिले पनि पूँजीगत खर्च हुन नसक्नु मुख्य चुनौती भएको बताउनुभयो । आयातमा भन्दा आत्मनिर्भरता तथा प्रारम्भिक बालविकासमा बजेटले प्राथमिकता दिनुपर्ने र सार्वजनिक यातायात सञ्जालको व्यवस्था गरी यसलाई सुरक्षित बनाउनुपर्नेमा उहाँको जोड थियो ।

सांसद बिना पोखरेलले बजेटले सामाजिक न्यायसहितको समाज निर्माण र युवा परिचालनमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । सांसद मुक्ताकुमारी यादवले शिक्षामा कूल बजेटको ३० प्रतिशत छुट्याउन माग गर्नुभयो । आधारभूत बालविकास (इसिडी)का शिक्षिकाले मासिक रु छ हजारमा मात्र काम गरिरहेकाले उचित पारिश्रमिकको व्यवस्था गरिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद राजकुमार कुँवरले देशका विभिन्न भागमा रहेका विविध खानी उत्खनन्मा बजेट विनियोजन गरिनुपर्ने र सांसदलाई बजेट छुट्याउँदा विभेद गर्न नहुनेमा जोड दिनुभयो ।

सांसद हरिराम चौधरीले उपत्यकाको खानेपानी समस्या समाधानका लागि ल्याउन लागिएको मेलम्ची आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न हुनेगरी बजेट विनियोजन गरिनुपर्ने सुझाव दिनुभयो । सांसद रामलखन चमारले सबै क्षेत्रको समानुपातिक विकास हुने गरी बजेट विनियोजन हुनुपर्ने धारणा व्यक्त गर्नुभयोे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal