सम्मेलनको उपलब्धिबारे जानकारी माग

काठमाडौँ, २४ पुस : दिगो विकास तथा सुशासन समितिले वन तथा वातावरण मन्त्रालयका पदाधिकारीसँग दिगो विकास लक्ष्यमा वन क्षेत्रको योगदान र जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि पक्ष राष्ट्रको २४आँै सम्मेलनबारे जानकारी लिएको छ ।

सो अवसरमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रमा अझै धेरै समस्या देखिए पनि त्यसलाई सम्बोधन गरेर अघि बढ्ने दिशामा सरकार ठीक ढङ्गले अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काष्ठजन्य पदार्थ एवं वन्यजन्तुको चोरी–निकासीमा न्यूनीकरणका लागि एकअर्का निकायबीच समन्वय गरेर अघि बढ्ने प्रयास भएको छ । ठीक समयमा ठीक विषयलाई सम्बोधन गरेर अघि बढ्नुपर्छ भन्ने मान्यतालाई कडाइका साथ पालना गर्ने काम शुरु गरिएको छ ।”

उक्त मन्त्रालयका सचिव डा विश्वनाथ वलीले पर्यटन प्रवद्र्धनका लागि कानूनलाई समयानुकूल बनाउने तथा वन्यजन्तुको सङ्ख्याका आधारमा आरक्षणको क्षमता भएका बारेमा अध्ययन–अनुसन्धान गर्ने काम भइरहेको बताउनुभयो ।

विश्वव्यापी रुपमा गरीबी अन्त्य, पृथ्वीको बचाउ र सबैका लागि समृद्धि प्रदान गर्ने परिकल्पनाका साथ सन् २०१५ मा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रद्वारा केही विश्वव्यापी लक्ष्य अघि सारिएको थियो । त्यसमा समावेश १७ वटा दिगो विकास लक्ष्यबाट पृथ्वीलाई दिगो विकासद्वारा सन् २०३० सम्ममा रुपान्तरण गर्ने उद्देश्य रहेको छ ।

उक्त लक्ष्य हासिल गर्ने सन्दर्भमा २०७४/७५ मा वन क्षेत्रमा ३८ हजार २५५ रोजगारी सिर्जना हुनाका साथै दुई अर्ब ७७ करोड राजश्व सङ्कलन भएको समितिको आजको बैठकमा जानकारी दिइयो । यो अवधिमा १९ हजार २४९ बिरुवा उत्पादन भएको तथा समुदायमा आधारित वन व्यवस्थापनका लागि समूह गठन र वन हस्तान्तरण ५८५ वटा भएको पनि सो अवसरमा बताइयो । ९६२ वटा पानी मुहान, पोखरी संरक्षण र सिमसार क्षेत्रको व्यवस्थान तथा ४४२ वटा पहिरो व्यवस्थापनलाई मन्त्रालयले मुख्य कार्य उपलब्धिका रुपमा प्रस्तुत गरेको छ ।

उक्त अवधिमा तल्लो तटीय नदी क्षेत्रमा तटबन्ध निर्माण ८१ किमी तथा काठ उत्पादन ५४.०८ लाख क्युफिट रहेको जानकारी दिइयो । हाल वैज्ञानिक वन व्यवस्थापन, नर्सरी निर्माण, हरियाली प्रवद्र्धन, सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूह गठन, चोरी–निकासी तथा अतिक्रमण नियन्त्रण, जडीबुटी विकास तथा आयआर्जन, निजी वन विकास, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तु अपराध नियन्त्रण, जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा भूक्षय नियन्त्रणजस्ता मन्त्रालयबाट भएका मुख्य क्रियाकलाप हुन् ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal