प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सहभागी हुदै । तस्बिर: रोशन सापकोटा

काठमाडौँ, ७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपालको संविधानका सबै प्रावधानहरू लागू हुँदै गएको र ‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाली जनताको चाहना भएको उल्लेख गर्दै सम्पूर्ण नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा ऊर्जा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

“आज ६९ औँ प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस दिवसले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस्”, सन्देशमा भनिएको छ ।

समृद्ध नेपाल निर्माण गर्न सबै अग्रसर हुनुपर्छः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गर्नुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा उपराष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा नेपाली जनताले ऐतिहासिक जनआन्दोलनबाट निरङ्कुश जहानियाँ राणाशासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ गौरवपूर्ण र अविस्मरणीय दिनमा प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर वीराङ्गनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

राजनीतिक सङ्क्रमण अन्त्य भई देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ भन्दै उहाँले राष्ट्रियता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपालको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै समृद्ध नेपाल निर्माण गर्नेतर्फ सबै अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताउनुभएको छ ।

उनन्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले मुलुक समृद्धिमा बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा रहेको बताउनुभयो ।

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको उहाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । “निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।” प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.