चाडबाडका विकृति र विसङ्गति सुधार्दै जानुपर्छ : सत्यमोहन जोशी

काठमाडौँ, २० कात्तिक : तिहार भनेपछि यमुना र यमराजको सम्बन्धको कथा जोडिएर आउँछ । परापूर्वकालमा यमपञ्चकमा बहिनी यमुनाले दाइ यमराजलाई टीका लगाइदिएर यस परम्पराको थालनी भएको हो । सांस्कृतिक सद्भावका साथ तिहार मानिँदै आएको छ तर यो यतिमा मात्र सीमित छैन ।

तिहार अर्थात् दीपावलीको मानवीयताका दृष्टिले फरक महत्व छ । तिहार त अरुले पनि मनाउँछन् । भारतीयले दीपावली(दिवाली) गर्छन् । नेपालमा चाहिँ काग, कुकुर, गाई र गोरुलाई पनि पूजा गरिने भएकाले यहाँको मौलिक विशेषता छ । नेपालीहरु तिहार अघिपछि पशुपक्षीलाई त्यसरी पूजा गर्दैनन् तर तिहारको बेलामा गर्छन् ।

पौराणिक कथामा यमपञ्चकका पाँच दिन यमराज बहिनी यमुनाको घरमा बास गर्छन् । सो अवधिमा इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाडेका थिए । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख समृद्धि, आरोग्य एवं दीर्घायुको कामनाजस्ता पवित्रतासँग तिहारको परम्परा जोडिएको छ ।

धार्मिक मान्यतानुसार पृथ्वीका मानिसलाई मृत्युलोकमा लानका लागि लिन आउँदा मृत्युका राजा मानिने यमलोकका यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा त्यस समय( यमपञ्चक)का समयमा पृथ्वीलोक गएका थिए । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । यसबाट नै यो परम्परा थालनी भएको मानिन्छ । यो कात्तिक शुक्ल द्वितीयाका दिन मनाइन्छ ।

तिहारमा दिदीबहिनी र दाजुभाइको भेटघाट सद्भाव मात्र होइन पशुपक्षीको पनि पूजा गरिनाले दशैँभन्दा यसको फरक महत्व छ । दोस्रो ठूलो चाड पनि त्यही भएर मानिएको होला । यही समयमा समुद्रमन्थनका प्राप्त भएका धन्वन्तरि (आयुर्वेदका प्रणेता)को पूजा पनि हुन्छ । गोवद्र्धनपूजाका दिन नेवारहरुको म्हः पूजा हुन्छ । म्ह पूजामा आत्माको पूजा गरिन्छ । आफ्नो शरीरको आफैँले तान्त्रिक विधिबाट पूजा गरेर शरीरभित्रको चेतन तत्वलाई पूरा गर्ने परम्परा छ । मण्डल बनाएर बत्तीलाई आत्मा र प्रतीकका रुपमा पूजा गरिने यो मौलिक परम्परा हो । नेपाल संवत्को नयाँ वर्ष पनि यही समयमा आउँछ ।

मत्र्यलोकमा भाइटीकाका दिन कुनै बहिनीले आफ्ना दाजुलाई यमराजले लिन आएका बेलामा तेल नसुकुञ्जेल र मखमली माला नओइलाउञ्जेल नलैजाऊ भनेको र यमराजले सो कुरा मानेकाले दाजु चाहिँले मृत्युलाई जितेको कथा पनि पाइन्छ । त्यसरी रोक्न सक्ने सामथ्र्य त्यही तेल बनेको थियो । यमुना भनेको नदी हो । तिहारको मुख्य आकर्षण यही हो । दिदीबहिनीले दाजुभाइ्लाई टीका लगाउने, तेल हाल्ने, मेवामिष्ठान्न भोजन दिने गर्छन् भने दाजुभाइले दिदीबहिनीलाई दानदक्षिणा र नयाँ वस्त्र आदि दिन्छन् ।

कथा यसरी शुरु भए पनि अहिलेसम्म यो परम्पराले चाडबाडको रुप लिएको छ । चित्रगुप्तले ‘समय सकियो लैजाऊ’ भने पनि यमुनाले यमराजको सुस्वास्थ्य र दीर्घायुको कामनाका लागि भाइटीका मनाइन् । यमुना र यमराजको मैत्रीभाव थियो त्यो । मखमली फूल नओलाउञ्जेल उनीहरुले तिहार मनाएका थिए । यसमा दिदीबहिनीले मखमली फूलजस्तै ओइलाउन नसक्ने कामना जोडिएको छ । यमराजले कुनै परिस्थिति आएमा पनि कसैले यमुनालाई आक्रमण गरेर लिएर जान नसक्ने अवस्थाका लागि देउसीभैलो गीत गाउन थालिएको हो ।

तिहारमा देउसीभैलोको परम्परा ऋतुपरम्परामा आधारित छ । यो लोकगीतमा आधारित छ, जस्तो असारमा असारे गीत गाएर धान रोपिन्छ । कात्तिक मङ्सिर अर्थात् देउसीभैलोको आसपासमा धान भित्र्याइन्छ । गाउँदै धान भित्र्याउँदै गरिन्छ । दशैँमा मालश्री धून बजाइन्छ, तिहारमा देउसी र भैलो ।

दिदीबहिनीले दूबोले तेल हाल्छन् । यो पवित्र र नओलाइने हुन्छ । मखमली फूल पनि ओइलाउँदैन । ओखर कडा हुन्छ, फुटाउन गाह्रो हुन्छ । म्ह पूजामा नेवारहरुले डोरो (धागो) लाउँछन् । यसको अर्थ भूतप्रेतले लखेट्न नसकून् भन्ने हो । यो तान्त्रिक विधिमा आधारित हुन्छ ।

अहिले सांस्कृतिक रुपान्तरणको कुराहरु चलेको छ, चाडपर्वलाई समयसापेक्ष बनाउने कुरा उठ्ने गर्छ । यसमा विकृति विसङ्गतिको अन्त्य गर्न आवश्यक छ, यो आफैँ हुँदै पनि जान्छ । विसं २००७ सम्म, राणाहरुको समयसम्म आफ्नै परिवारमा मात्र दशैँतिहारमा टीकाटालो लगाउने र मनाउने गरिन्थ्यो । प्रजातन्त्र आएपछि देशविदेशमा रहेका सबैलाई शुभकामना दिने र सबै नेपालीले जहाँ रहेर पनि यो चाडपर्व मनाउने परम्पराको थालनी भयो । अमेरिका वा बेलायतमा बसेर पनि नेपाली पूर्खाको सन्तान छ भने उसलाई मेरो संस्कृति यो रहेछ, नेपालीत्व ममा छ भन्ने भावना र सबैलाई जोड्ने अवसर हुन्छ ।

यसमा विकृति र विसङ्गति सुधार्दै जानुपर्छ तर कसरी हेर्ने भन्ने पनि कुरा आउँछ, जस्तो तीजमा महिलाले साडी र राम्रो गहना लगाउँछन् । नाचगान गर्छन् । यसलाई विकृति भन्न मिल्दैन । लोग्नेमान्छेले जे पनि गर्न मिल्ने, महिलाले दुइटा सुनको चुरी लाएर राम्रो ठाँटिएर हिँड्न नहुने ? सुनको गहना बनाउनु त सम्पत्ति पनि हो । यो त बैंँकको पैसा जस्तो हो । स्वाभाविक रुपमा त्यसमा समसापेक्ष परिवर्तन हुन्छ । कुनैबेला दशैँमा दक्षिणा पाउँदा वा मीठो खाँदा कति रमाइलो हुन्थ्यो । गरीबलाई दशा हुन्छ भन्छन् । गरीबीको पनि समयअनुसार परिभाषा हुन्छ । कुनै बेला मोटर चल्दा कस्तो अनौठो लाग्थ्यो । मोटर हुने मान्छे धनी र सम्पन्न कहलिन्थ्यो । उहिले म विद्यालयमा पढ्दा सुदानन्द वैद्य भन्ने माष्टरले जर्मनीबाट ल्याइएको मोटरसाइल चढेर आउँदा परैदेखि ‘ओहो’ भनेर हेर्नेको भीड हुन्थ्यो ।

अहिले ट्राफिक जामको समस्या भइसक्यो । वातावरण प्रदूषित छ । शहरमा गाडी, घर, अपार्टमेन्ट सामान्य भइसक्यो । खेतीमा आधुनिक मेशिनको प्रवेश भएको छ । दशैँतिहारमा आफन्तकहाँ जान दुईचार दिनसम्म हिँड्नु पनि पथ्र्यो । अहिले गाउँगाउँमाा सडक पुगेको छ । गाउँको बस्ती शहरीकरण भएको छ । त्यही भएर बिदाहरु पनि कटौती भएको छ । चाडबाडमा चाहिने सामान गाउँघरमै बनाइन्थ्यो । बजार पुग्न निकै कठिन हुन्थ्यो, अहिले दुना टपरी पनि बजारमै पाइन्छ । नोकरी गर्ने र व्यवसाय गर्नेहरुका लागि घरमा सामान जुटाएर बस्न भ्याउने स्थिति हुँदैन । उनीहरुले अनलाइन सपिङबाटै घरमै सामान मगाउँछन् । पर्व मनाउँछन्, रमाइलो गर्छन् । मानिसहरु व्यस्त हुने भएकाले टीका लगाएर हिँडिहाल्ने पनि छन् । यो आफ्नो समयको अनुकूलताको कुरा पनि हो तर भावनात्मक रुपमा उसले पर्वलाई आत्मसात् गरेकै हुन्छ । कार्यालय पुगेपछि पनि घर, परिवार र पर्वकै कुरामा रमाउँछ । समय, शैली र तरिका बदलिँदै गयो, त्यसलाई हामीले आत्मसात् गर्नुपर्छ ।

(वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग प्रकाश सिलवालले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal