मुलुकलाई समृद्धतर्फ लैजाने हो भने सहकारी एक मात्र भरपर्दो विकल्प हो : सांसद खतिवडा
गा. वि.स. अध्यक्ष, गा. वि. स. महासंघको अध्यक्ष, नेफ्स्कुनको तीन/तीन पटक महासचिव तथा तेस्रो पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान २०६८ द्वारा सम्मानित हुनुभएका माननीय घनश्याम खतिवडा ने. क. पा. को तर्फबाट मोरङ्गको १ नम्बर क्षेत्रबाट संघिय संसदको सदस्य हुनुहुन्छ । सहकारी क्षेत्रमा लामो समय काम गर्नु भएका खतिवडासँग सहकारीसँग सम्बन्धित समसामयिक विषयवस्तुमा भोलानाथ पाठक र टेकनाथ न्यौपानेले गर्नुभएको कुराकानीको सार संक्षेप ।
स्थानीय निकायको जनप्रतिनिधि हुँदै लामो समय सहकारी आन्दोलनमा सहभागी भएर संघिय संसदको सदस्य बने पछि संसदमा तपाईको उपस्थिती कस्तो रहन्छ ?
मैले सहकारी क्षेत्रमा नीतिगत र कानूनी हिसावले सुधार गर्नु पर्ने थुप्रै कुराहरु देखेको छु । अभियन्ता, बिज्ञ साथीहरुसँग छलफल, परामर्श गरेर उहाँहरुको सुझाव मेरा अनुभवको आधारमा सकरात्मक भूमिका निभाउने छु । सहकारी ऐन २०४८ लाई प्रतिस्थापन गर्नेगरी आएको २०७४ सालको ऐनमा नेपालको संबिधान अनुसार धरै कुराहरु अनुसुचीमा व्यवस्था गरे अनुरुप छैन । संविधानमा स्थानीय तह, प्रदेश र संघले कानून बनाउन पाउने व्यवस्थाले अन्यौल बढाएको छ । सहकारी समुदायमा आधारित हुनु पर्दछ, सदस्यहरुमा केन्द्रीत हुनु पर्दछ, दिगो ढंगले समुदायको आर्थिक बिकासको लागी कामयावी हुनु पर्दछ । ऐनमा छुटेका यस्ता विषयबस्तुलाई कहाँ कुन ढंगले सम्बोधन गर्नु पर्नेछ यसमा मेरो सकृय सहभागिता रहने छ । सहकारी सुखि जनता र समृद्घ राष्ट्र निमार्णका लागी एउटा आधार बन्न सक्नु पर्दछ । मुलुकको गरिबी घटाउन अर्थतन्त्रका तीन खम्बाहरु मध्ये एक सहकारी पनी हो भन्ने राष्ट्रको निर्देशक सिद्घान्तले स्विकारेको बिषयहरुलाई कहाँ नेर यो ऐनले सम्बोधन गर्न सकेन त्यसलाई तीन महले बनाएर संशोधनका लागी मेरो पहल रहने छ ।
सहकारीलाई स्थानीय निकायमा लगिएको छ यसले अभियानमा के कस्तो प्रभाव पार्छ ?
यसको सहकारीमा प्रभाव केहि न केही त जरुर रुपमा पर्छ नै स्थानीय तहमा सहकारी जाँदा खेरी पहिले राष्ट्रिय (संघिय) नीति बन्नु पर्दछ यो नीति भित्र सात प्रदेश र ७५३ बटै स्थानीय निकाय भित्र एउटै नीति, बिधि र सञ्चालनका तरिकाहरु अबलम्बन गर्न सकियो भने मात्र सार्थकता पाउँछ । ठाँउ, क्षेत्र र परिवेश अनुसार प्रकृति फरक हुन सक्ला तर निर्यात प्रर्बधन गर्न र आयात प्रतिस्थापन गर्नका लागी स्थानीय उत्पादनको बृद्घि गर्नका लागी सहकारीलाई दरिलो बनाउनु पर्ने हुन्छ । सहकारीका आफ्नै अन्र्तराष्ट्रिय मुल्य मान्यता, सिद्घान्त र आर्दश छन ति सबै स्थानीय तह र देशले पालन गर्नु पर्ने भएकाले नकरात्मक प्रभाव परिहाल्दैन ।
अबको सहकारीको भविष्य कस्तो छ ?
सहकारीको भविष्य अत्यन्तै सुन्दर छ, सहकारी मात्र यस्तो व्यवसाय हो जो टिम मिलेर गरिन्छ । मुलुकको समृद्धको लागी पाँच वटा टि (टिम्बर, टि, टुरिज्म, टेक्नीकल एजुकेशन र टिमवर्क) लाई अङ्गिकार गर्नु आवश्यक छ । ससाना पुँजी भएकाहरुको सहकार्यमा एकै ठाँउमा ठुलो पुँजी जम्मा गरेर सहकारी मार्फत रोजगारी सिर्जना गर्दे आ—आफ्ना आवश्यकता परिपुर्ति गर्न सफल भएका छन । सहकारी यस्तो एउटा उपयुक्त थलो हो जहाँ सबै बर्ग, समुदाय, जातजाती र सम्प्रदाय अटाएका छन । २०१३ साल चैत्र २० गते सुरु भएको सहकारी अभियानको अभ्यास हेर्दा २०४८ साल पछि भने गति लिएको सहकारीमा समय क्रमसँगसँगै केहि बिकृति बिसंगती पनि नआएका हैनन । सहकारीका नाममा गरिने ब्यापार र केहि अवाञ्छित तत्वका कारण सवच्छ र पवित्र सहकारीमा केहि समस्या नआएका हैनन । खासगरी खुल्ला र स्वेच्छिक सदस्यता, प्रजातान्त्रीक नियन्त्रण जस्ता सहकारीका सात वटा सिद्धान्त अझ बचत तथा ऋणका नौं वटा सिद्धान्त छन त्यसका मुल्य र मान्यतामा रहेर सहकारी सञ्चालन गरियो भने सहकारीको भविष्य हाम्रो मुलुकको लागी बरदान सावित हुनेछ । हाम्रो मुलुकको भूगोल र अहिलेको परिस्थीति तथा हाम्रो गरिबी हटाउन सहकारी एउटै थलोमा बसेर काम गर्नका लागी सबैजनालाई अनुकुलता पैदा गर्ने भएकाले नै सुखि जनता र समृद्ध राष्ट्र निर्माणका लागी सहकारीको अपरिहार्यता र सहकारीको भवष्यि एकदमै सुन्दर रहेको छ । सबैले प्रतिबद्ध भएर सहकारीका सिद्धान्त अनुसार काम गर्नु सक्नु पर्दछ ।
छ दशक लामो सहकारी आन्दोलनले दिएको उपलब्धी के के हुन ?
छरिएर रहेका मान्छेहरुलार्य संगठित गरेको छ, राजगारी सिर्जना गरेको छ, सानातिना व्यवसाय गर्नका लागी ऋण उपलब्ध गराउको छ, बचत कर्तालाई बचत गर्ने अबसर दिएको छ, विषयगत सहकारीको प्रर्वद्धन र बिकास भएका छन यसले हाम्रो मुुलुकमा निर्यातलाई बढवा र आयातलाई घटाउने कुरामा सहकारीले उल्लेखनिय भुमिका खेलेका छन तर राज्यले सहकारी क्षेत्रलाई दिने सेवा सुविधालाई अझै पनि कञ्जुस्याई गरिरहेको छ । यसमा उपयुक्त नीति बनाएर जानु बाञ्छनीय हुन्छ ।
सहकारी अभियानमा देखिएका नकरात्मक प्रभावहरु के के हुन ?
केहि गलत मनसाय भएका मानिसहरु मिलेर सहकारी खोल्ने, बिभिन्न प्रलोभन दिएर निक्षेप संकलन गर्ने र पेसा खाएर भागीदिने गर्नाले सहकारीलाई ठुलो कलङ्क लागेको छ । कसैले सहकारीका भावना र सिद्धान्त बिपरित चलेर आएका नतिजाहरुहरुले सहकारीलाई केहि बदनाम गरेका छन तर अब क्रमशः कम हुँदै गएका छन ।
ऐनले सहकारी संस्थाले परियोजनहरु सञ्चालन गर्न नपाउने व्यबस्था गरेको छ यसमा यहाँको धारण के छ ?
अब सानोतिनो व्यबसायले मात्र मुलुकको समृद्धिको लक्ष्य प्राप्त गर्न सक्दैन । सहकारी क्षेत्रले संकलन गरेको पुँजीलाई परिचालन गर्न, लगानी गर्न बचत तथा ऋण संस्थाहरुका लागी छुट्टै ऐन आउनु पर्दछ भन्ने मेरो धारणा हो । व्याक्तिगत ऋण मात्र होइन ऐन बनाएर संस्थाहरुले बचत गरेको पुँजीलाई सदस्यहरुको अनुमतीले उपयुक्त ठाँउमा लगानी गर्न पाउने अबसरको सिर्जना गरिनु पर्दछ । नत्र हाम्रो मुलुकको समृद्धिको आन्दोलनमा सहकारीको योगदान देखिदैन । राष्ट्रलाई आर्थिक रुपले समृद्ध बनाउन ठुलठुला उद्योगधन्दा, व्यवसाय र योजनातिर पनि सहकारीलाई संलग्न गराइनु पर्दछ ।
सहकारीका लगाईदै आएको कर सम्बन्धी यहाँको धारणा के छ ?
राज्यले सहकारीमा गाउँ र शहरका सहकारी भनेर बिभेद गरेको छ । शहरमा पनि बिपन्न परिवार र समुदायका मान्छेहरु मिलेर खोलेका सहकारी एउटै टोकरीमा राखेको छ । राज्यको यो नीति गलत छ । सहकारी संस्थाहरुलाई कारोबारको आधारमा मात्र कर लगाइनु पर्दछ । कर्पोरेट ट्याक्स भन्दा महङ्गो गरी सहकारीलाई लगाइएको छ यो सहकारी ऐनमा पनी घटाउने प्रस्ताव गरिएको छ यो आर्थिक ऐनमा आयो भने संसदमा र सडकमा यसको बिरुद्धमा जोडदार आवाज उठाइने छ । कर राज्यलाई तिर्न हो तर करका दायरा र क्षेत्रहरु अन्त छन । सहकारी क्षेत्र त कम पुँजी भएका र बिपन्न वर्गहरु खासगरी गरिबी न्युनीकरणका लागी काम गरिने भएकाले यस तर्फ ध्यान दिनु जरुरी छ र दिनु पर्दछ ।
अन्त्यमा केहि भन्न चाहानुहुन्छ कि ?
शहर भित्र पनि समुदायमा आधारित सहकारी संस्थाहरु हुन्छन त्यसको उदाहरण पाँच तारा सहकारी हो र यस्ता शहर भित्रका सहकारीलाई राज्यले हेर्ने दृष्टिकोण र दिने अनुदानमा उचित न्याय गर्नु पर्दछ भन्ने मलाई लाग्छ । सहकारी क्षेत्र आज मुलुकको बृहत्तर क्षेत्र भएको छ । हाम्रो मुलुकको आवश्यकताको हिसाबले यति धेरै सहकारी संस्थाहरुको जरुरत छैन । प्रकृति मिल्ने सहकारी संस्थाहरुलाई हामीले एकिकरण प्रकृयामा जानु पर्दछ । सहकारीको संस्थाहरुको क्षमता बिकास र शुद्धताको खोजी सहकारी अभियान भित्र पनि गर्नु पर्छ यि विषयहरुमा आगामी दिनका यि हाम्रा चुनौतीहरु हनु यी चुनौतीहरु सामना गर्दै सहकारीलाई एउटा सबैले गर्ने साझा व्यवसायको थलो, धेरै मान्छेहरुलार्य रोजगारीको अबसर प्रदान गर्ने थलो, धेरै मानीसहरुलाई सँगैसँगै आर्थिक सहयात्रा गर्न सक्ने थलोको रुपमा बिकास गरेर मुलुकको गरिबि घटाउने, सुखि जनता र समृद्ध राष्ट्र बनाउने अभियानमा जानु पर्दछ भन्ने मलाई लाग्दछ ।