‘उत्पादन निर्यातमुखी बजेट आउनु पर्ने विज्ञहरुको सुझाव

नारायण ढुङ्गाना । काठमाडौँ, १० वैशाख : मुलुकको उन्नयनका लागि देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन नेपाली उत्पादनलाई वृद्धि गर्ने गरी बजेट तर्जुमा गर्नुपर्नेमा आर्थिक क्षेत्रका जानकारहरुले सुझाव दिएका छन् । आर्थिक वर्ष २०७६/७७ को बजेट सम्बन्धमा आज काठमाडौँमा भएको छलफलका क्रममा उनीहरुले उद्योग व्यवसायको विस्तार गरी वैदेशिक लगानी भित्र्याउँदै नेपाली उत्पादनलाई निर्यात गराउन सक्नेगरी बजेट आउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल व्यवस्थापन सङ्घले आयोजना गरेको छलफल कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संविधानले दिएको जिम्मेवारीको आधारमा मूलुकलाई समृद्ध कसरी पार्न सकिन्छ भन्ने विषयमा चिन्तन गरेर बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकार र स्थानीय तहमा समेत प्रभाव पार्ने भएकाले सङ्घीय बजेटले त्यसलाई मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

सुझाव प्रस्तुत गर्दै प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले बजेट अङ्कगणित मात्रै नभइ जनताले अनेकौँ अपेक्षा राख्ने विषय भएको उल्लेख गर्दै साहसिक खेल, बहुमूल्य जडीबुटी, स्वदेशी उत्पादन, प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य र शिक्षाको व्यापारमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने भनाइ राख्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शङ्करप्रसाद शर्माले परियोजना परीक्षणका आधारमा बजेट निर्धारण गर्नुपर्ने बताउनुभयो । कृषि अनुदान ठूलाबडाले खाइदिएको स्मरण गर्दै उहाँले लगानी सम्मेलनमा जति प्रतिबद्धता आएको छ, त्यसलाई कार्यान्वयन गर्न डेस्क नै खडा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सहभागीले प्राकृतिक स्रोत सम्पदाको भरपूर उपयोग गरी उद्योग र पर्यटन विकास केन्द्रित बजेट आवश्यक रहेको बताए । सहभागीले आयात प्रतिस्थापन गरी निर्यात बढाउनेतर्फ बजेटले ध्यान दिनुपर्ने भन्दै साना उद्योग र नेपाली उत्पादनको प्रोत्साहन जरुरी रहेको बताए ।

पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले पूँजीगत खर्च न्यून हुने परम्परागत चलन अहिले पनि जारी रहेको भन्दै यस्तो अवस्थाको अन्त्य नगरेसम्म विकासले फड्को मार्न नसक्ने जिकिर गर्नुभयो । “सरकारले कर्मचारीलाई विश्वास गर्न नसकेको हो या कर्मचारीले इमान्दारिता ननिभाएको हो, तालमेल मिलेको जस्तो देखिँदैन, असारे विकासको मनोवृत्ति देखिन्छ, यसलाई तुरुन्त हटाउनुपर्छ”, क्षेत्रीले भन्नुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष शतिशकुमार मोरले प्राथमिकता क्षेत्र पहिचान गरेर बजेट ल्याउनुपर्नेमा जोड दिँदै सम्भावनाको आधारमा सातै प्रदेशमा विकासका कार्यक्रम लैजान र आन्तरिक उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको पछिल्लो अर्थव्यवस्था सुधारोन्मुख रहेको बताउँदै मितव्यायी राजस्व प्रणाली, लगानीमैत्री वातावरण, प्रतिस्पर्धी र वैज्ञानिक कर प्रणाली आजको आवश्यकता भएको औँल्याउनुभयो । उहाँले वैदेशिक लगानी बढाउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले घरेलु उद्योगमा तीन लाख ८० हजार दर्ता भए पनि अहिले दुई लाख ९० हजारले नवीकरण गरेको प्रसङ्ग कोट्याउँदै एउटा पुस्ताले मात्रै उद्योग सञ्चालन गर्नाले समस्या आएको बताउनुभयो । सीप हस्तान्तरण गर्ने प्रणाली स्थापना हुन नसक्दा उद्योग फष्टाउन नसकेको भन्दै उहाँले बजेटले यस्ता उद्योगलाई संस्थागत संरक्षण दिनुपर्ने बताउनुभयो ।

उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले वस्तु र सेवा क्षेत्रमा लिने कर हटाउन माग गर्दै उपभोक्ता संरक्षण ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

आन्तरिक उत्पादनलाई सुरक्षित बनाउनेतर्फ ध्यान : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले आन्तरिक उत्पादनलाई सुरक्षित बनाउनेतर्फ सरकारले ध्यान दिएको बताउनुभएको छ । बजेट छलफलकै क्रममा रहेकाले आएका उपयुक्त सुझावलाई समेट्ने प्रतिबद्धता जनाउँदै उहाँले मुलुकको आर्थिक विकासलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा सरकार लागेको बताउनुभयो । सहभागीले दिएको सुझाव र टिप्पणीका विषयमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले बाहिर प्रचार गरिएजस्तो व्यापार घाटा नभएको जिकिर गर्नुभयो । पूँजीगत खर्च हुन नसकेका विषयमा उठेको जिज्ञासाबारे मन्त्री खतिवडाले सङ्घको मात्रै मूल्याङ्कन गरेर मात्रै यथार्थ तथ्याङ्क नआउने भएकाले समग्रमा मूल्याङ्कन जरुरी रहेको उल्लेख गर्नुभयो ।

“खर्च पूँजीगत मात्रै हो अरु होइन भन्ने भ्रम छ, मेलम्ची, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दिएको पैसा पूँजीगत खर्चमा नआइ वित्तीय र चालू खर्चमा पनि जान्छ, कतिपयको काम भएको छ, भुक्तानी बाँकी छ, यस्ता कुराले निर्धारण गर्छ”, अर्थमन्त्रीको भनाइ थियो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तह गरी ७६१ वटा सरकारकै कामको मूल्याङ्कनबाट मात्रै घाटा नाफाको अवस्था आउने भन्दै सङ्घको मात्रै नहेर्न अनुरोध गर्नुभयो । सबै काम असारमा भएको भन्ने भ्रममा नपर्न अनुरोध गर्दै उहाँले भौतिक प्रगति भएकाको वित्तीय प्रगति बाँकी रहेकाले असारमा भुक्तानी हुँदा यस्तो देखिएको मन्त्री खतिवडाको भनाइ थियो ।

उहाँले सम्पन्न भएर आएका कामको भुक्तानीमा ढिलाइ नगर्न निर्देशन दिएको बताउँदै यसपटक संशोधित बजेटभन्दा माथि काम हुने अवस्था रहेको उल्लेख गर्नुभयो । कतिपय अवस्थामा कमी कमजोरी रहेको स्वीकार गर्दै मन्त्री खतिवडाले न्यायिकता, साधन श्रोत परिचालन, ऋण र राजस्व कसरी परिचालन गर्ने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिनुभयो । राष्ट्रपतिले संसद्मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको तयारी भइरहेको जानकारी दिँदै उहाँले वस्तु र सेवाको निर्यातको जग बलियो बनाउनुपर्ने अहिलेको आवश्यकता हो भन्नुभयो । उत्पादन क्षेत्रसँगै जोडेर लगानी बढाउनुपर्ने आवश्यकता रहेको मन्त्री खतिवडाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.