तेह्र वर्षदेखि जनआन्दोलनका घाइते मुकेशको अवस्था उस्तै

जनआन्दोलन २०६२/०६३ को क्रममा २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा गोली लागेर घाईते भएका बनेपाका मुकेश कायस्थलाई स्याहार्दै उहाँकी आमा मिरा कायस्थ । मुकेश विगत १३ बर्षदेखि अर्धचेत अवस्थामा रहेका छन । तस्बिर: पेमा लामा, बनेपा ।

बनेपा, वैशाख ११ : जनआन्दोलन विसं २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् ।

जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भएर सेवा प्रवाह भइरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होकिएका जनआन्दोलनका घाइतेको अवस्था भने उस्तै रहेको जनआन्दोलनका घाइते मुकेशका आमा मिरा कायस्थले बताउनुभयो ।

विसं २०६२/६३ का जनाआन्दोलनको क्रममा २०६२ चैत्र २७ गते बनेपामा गोली लागेर घाइते भएका मुकेश कायस्थ अहिले पनि ओछ्यानमा नै छटपटिरहेका छन् । आमा मीरा कायस्थले पछिल्लो पटक गरेको शल्यक्रियाबाट पनि उहाँको सुधार नभएको बताउनुभयो ।

उपचारको क्रममा अहिलेसम्ममा तीन पटक टाउकाको शल्यक्रिया गरिसकेको उहाँको भनाइ छ । “असार महीनामा शल्यक्रिया भएपछि पनि अवस्था उस्तै छ ।”, मीराले भन्नुभयो, “मङ्सिरमा अप्रेशन गरे, खासै सुधार देखिएको छैन ।” मुखले खाने र हाँस्ने जस्ता काम अहिले गर्न नसकेको उहाँले बताउनुभयो ।

अहिलेसम्म पनि उपचारको सबै खर्च सरकारले नै ब्यहोर्दै आएको भए पनि सङ्घीय संरचनाअनुसार जिल्लामा रहेको जनस्वास्थ्य कार्यालय प्रदेशअन्तर्गत रहने भएपछि उपचारको लागि व्यवस्था हुँदै आएको नर्सको सुविधा नभएको उहाँको भनाइ छ ।

उहाँको लागि स्वास्थ्य मन्त्रायलयबाट जिल्ला जनस्वास्थ्य कार्यालय हुँदै आउनुपर्ने सुविधा जिल्ला जनस्वास्थ्य कार्यालय अहिले प्रदेशअन्तर्गत भएपछि भएको फेरबदलका कारण करीब एक वर्षभन्दा बढी समय गुज्रदा पनि उपलब्ध हुन नसकेको उहाँको भनाइ छ ।

मुखले पनि नखाने र हातखुट्टा पनि चल्नुपर्ने नचलेको आमा मिराले बताउनुभयो । अहिले अक्सिजन चाही दिइरहनुपर्ने अवस्था नभएको उहाँको भनाइ छ । मुकेश कायस्थ प्रतिस्ठानका मोहन दुवालले उहाँको नाममा मस्तिष्क घातको पुनस्र्थापना केन्द्र स्थापना गर्नको लागि पहल गरिरहेको बताउनुभयो ।

“उहाँ जस्तै बिरामीको उपचारमा सहज होस् भनेर केन्द्र स्थापना गर्न माग गरिरहेका छौँ तर त्यो अगाडी बढिरहेको छैन”, उहाँले भन्नुभयो, “ठाउँको अभावको कारण त्यो प्रक्रिया अगाडि बढ्न नसकेको भन्ने उहाँहरुको कुरा छ ।” पुनःस्थापना केन्द्र स्थापना गर्नैपर्छ भन्ने अभियानमा त्यसको बारेमा निरन्तर कुराकानी भइरहेको उहाँले बताउनुभयो ।

मुकेश जस्तै अन्य घाइतेको उपचारको लागि सहज वातावरण होस् भन्ने हेतुले विसं २०६८ मा मुकेश कायस्थ प्रतिष्ठानले सो विषयलाई संस्थागत रुपमा अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.