‘स्वर्गको कार्यशाला’ र ‘सार्वभौम नीति’ बजारमा

काठमाडौँ, २ असोज : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले जीवनका विभिन्न आयामलाई खोजी गर्न सक्ने सार्वभौम ज्ञानका पुस्तक आजका नयाँ पुस्ताले अध्ययन गर्न खाँचो रहेको बताउनुभएको छ ।

लेखक कुलराज पौडेल ‘रुपक’ द्वारा लिखित ‘स्वर्गको कार्यशाला’ र ‘सार्वभौम नीति’ पुस्तक लोकार्पण गर्दै उहाँले जीवनलाई सत्कर्ममा लगाउन यिनै ज्ञान, सिद्धान्त र प्रयोगको आवश्यकता रहेको बताउनुभयो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले लोकार्पित पुस्तक अङ्ग्रेजीमा अनुवाद गरेमा नोबेल पुरस्कारका लागि मनोनयन हुन सक्ने विचार व्यक्त गर्नुभयो ।

कृति समीक्षक प्रा रामप्रसाद दाहालले सार्वभौम दर्शनका पाँच खण्ड नेपालको गौरव भएके बताउँदै सार्वभौम दर्शन नेपालबाटै प्रादुर्भाव भएकामा खुशी व्यक्त गर्नुभयो ।

लेखनकुञ्जका अध्यक्ष कमल ढकालले समाजलाई सकारात्मक बाटामा अगाडि बढाउन पौड्यालद्वारा लिखित सार्वभौम दर्शनका पुस्तक महत्वपूर्ण हुने बताउनुभयो ।

‘सार्वभौम नीति’मा सार्वभौम युगको विश्वविधान, सार्वभौम विज्ञान, सार्वभौम अध्यात्मसहित पाँच खण्ड छन् । त्यसमध्ये सार्वभौम युगको विश्व विधानले एक विश्व सरकार बनाउनका लागि आवश्यक सम्पूर्ण सैद्धान्तिक ज्ञान प्रस्तुत गरेको छ । सार्वभौम अध्यात्मले प्रकृति र प्रकृतिको कारण कर्तारुपी ईश्वरलगायत सूक्ष्म आध्यात्मिक चिन्तनलाई उल्लेख गरेको छ जुन सबै धर्म र सम्प्रदायबाट टाढा वा नजीक छैनन् ।

‘स्वर्गको कार्यशाला’मा ब्रह्माण्डीय शक्तिलगायत अत्यन्त जटिल भौतिक पक्षको व्याख्या गरिनाका साथै अलौकिक स्वर्गको र वर्तमान पृथ्वीबारे चर्चा गरिएको छ । ‘सार्वभौम नीति’मा चाणक्य– विदुरकै पथका युगानुकूल दुई हजार १० नीति समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.