नइ प्रकाशनद्वारा बिस जनालाई विभिन्न विधामा पुरस्कार प्रदान

काठमाडौँ, २८ वैशाख : काठमाडौँको नइ प्रकाशनले आज नेपाल र भारतका २० जनालाई विभिन्न पुरस्कार प्रदान गरेको छ । प्रकाशनले भारतमा बसेर नेपाली भाषा साहित्यमा योगदान दिएको भन्दै रु दुई लाख राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारतका १०१ वर्षीय साहित्यकार हाइमनदास राई किरात र डा लक्खीदेवी सुन्दासलाई संयुक्तरुपमा प्रदान गरेको छ ।

यस्तै धर्म संस्कृति संरक्षणमा योगदान दिने श्री १००८ स्वामी रमणानन्द गिरी ‘नइ चन्द्रधन पुरस्कार’, राष्ट्रियताका पक्षमा वकालत गर्दै आएको भन्दै नेकपा मालेका महासचिव चन्द्रप्रकाश मैनालीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’, नेपाली भाषा साहित्यमा योगदान दिने प्रा डा चूडामणि बन्धुलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, नेपाली इतिहासको अध्ययनमा समर्पित प्रा डा त्रिरत्न मानन्धरलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ प्रदान गरिएको छ ।

नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी योगदान गर्ने गोविन्द गिरीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, चित्रकलामा योगदान गर्नुहुने गेहेन्द्रमान अमात्यलाई ‘नइ यउजा पुरस्कार’ र काठमाडौँ बाहिर रहेर नेपाली भाषा साहित्यमा योगदान पु¥याएको भन्दै स्याङ्जाका देवीप्रसाद वनवासीलाई ‘नइ धनरुप पुरस्कार’ प्रदान गरिएको छ ।

उक्त सातवटै पुरस्कारको राशि जनही रु एक लाख रहेको छ । कार्यक्रममा प्रा डा महेश खकुरेललाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’, मोहन दुवाललाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’, किरण आचार्यलाई ‘नइ बुलु शर्मा पुरस्कार’ प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ ।

यस्तै रु १० हजार राशिको नइ बाल पुरस्कारबाट जेनी मानन्धर, प्रारम्भ अधिकारी, विमल शाही, पालिस्था नापित र निशान पन्थीलाई प्रदान गरिएको छ । सात हजार राशिको नइ कोपिला पुरस्कार हिमानी प्रधान र अपेक्षा शेरचनलाई तथा पाँच हजार राशिको नइ चिचिला पुरस्कार चार वर्षीया बालिका स्वीकृति दाहाललाई प्रदान गरिएको छ । सबै पुरस्कार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.