चार साहित्यकार सम्मानित

काठमाडौँ, २८ वैशाख : पारिजात स्मृति प्रतिष्ठानले चार साहित्यकारलाई सम्मानित गरेको छ । पारिजातको योगदानलाई विश्वमाझ चिनाउन सहयोग गरेको भन्दै प्रतिष्ठानले सम्मान गरेको हो ।

सो अवसरमा पारिजात सिर्जना सम्मानबाट आनन्ददेव भट्ट, पारिजात सङ्घर्षशील नारी सम्मानबाट सरिता महर्जन, पारिजात कला सम्मानबाट रामकृष्ण दुवाल र पारिजात बालसाहित्य सम्मानबाट खगेन्द्र सङ्ग्रौला प्रशंसापत्रसहित सम्मानित हुनुभएको छ ।

नेपाली साहित्यमा पारिजातको अतुलनीय योगदान रहेको गायक रामेश श्रेष्ठले बताउनुभयो । “उहाँको जीवनीबाट आजका युवाले धेरै प्रगति गर्न सक्छन्”, उहाँले भन्नुभयो । आज नेपाली समाज विकृत हुँदै गएकाले मानिसमा सकारात्मकता हराउँदै गएकामा उहाँले दुःख व्यक्त गर्नुभयो ।

लेखक खगेन्द्र सङ्ग्रौलाले निकै सरल व्यक्तित्वका रुपमा परिचित पारिजातले नेपाली समाजको परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुभएको बताउनुभयो । महिला आन्दोलनमा पारिजातले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उहाँ स्मरण गर्नुभयो ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष रायनले पारिजातको समयमा उहाँकै प्रेरणाबाट धेरै युवाले प्रगति गरेको जानकारी दिनुभयो ।

राष्ट्रिय कविता प्रतियोगिताका प्रतियोगीलाई नगद र सम्मानपत्रले पुरस्कृत

रोल्पा गुराँस साहित्य मेलाअन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा खोटाङका मोहन पोख्रेलको ‘झोलामा देश’ कविता प्रथम भएको छ ।

उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई सभामुख कृष्णबहादुर महराद्वारा नगद र सम्मानपत्रले पुरस्कृत गरिएको थियो ।

वैशाखको १५ गते देखि १७ गतेसम्म भएको साहित्यिक मेलाअन्तर्गतको कविता प्रतियोगितामा खोटाङका मोहन पोख्रेलको ‘झोलामा देश’ कविता प्रथम भएको थियो भने कैलालीका मोहित जोशीको ‘औँलाको शहर’मा कविता द्वितीय, सिन्धुपाल्चोकका पवन ढुङ्गानाको ‘म नै सर्वहारा’ कविता तृतिय भएको थियो ।

नुवाकोटका गीता पुडासैनीको ‘रोल्पा’ शीर्षकको कविता र सिन्धुपाल्चोकका सुन्दर श्रीषको कविता ‘अक्षरको समाजशास्त्र’ले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई रु ४० हजार द्वितीयलाई रु ३० हजार, तृतियलाई रु २० हजार र सान्त्वनालाई रु १० हजार र सम्मानपत्रले पुरस्कृत गरिएको थियो ।

रोल्पा नगरपालिकाका प्रमुख पुरन क्षेत्री, निर्णायक कवि मोमिला, नवीन रोचन मगर, वासु त्रिपाठी, राज शाहले मन्तव्य राख्दै प्रतियोगिताको महत्व र निर्णायक प्रक्रियाका बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.