लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा विभिन्न विधाका स्रष्टा सम्मानित

काठमाडौँ, २७ वैशाख : नेपाली भाषा, कला र साहित्यको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने विभिन्न विधाका स्रष्टालाई लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले सम्मान गरेको छ । स्रष्टा सम्मानको रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा आख्यान विधामा योगदान गरेको भन्दै ‘गङ्गादेवी चौधरी स्मृति सम्मान’ पद्मावती सिंहलाई प्रदान गरिएको छ । पुरस्कारको राशि नगद रु एक लाख र कदरपत्र रहेको छ ।

यस्तै, साहित्यिक पत्रकार अच्युतरमण अधिकारीलाई लूनकरणदास–गङ्गादेवी चौधरी ‘सरस्वती गद्यसम्मान’, साहित्यकार मोदनाथ प्रश्रितलाई ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’, गीतकार गणेश रसिकलाई ‘नारायणगोपाल सङ्गीतसम्मान’बाट पुरस्कृत गरिएको छ ।

क्रमशः ‘अरनिको ललितकला सम्मान’ चित्रकार किरण मानन्धर, ‘बालकृष्ण रङ्गसम्मान’ नायिका भुवन चन्द, ‘नेपाल नवप्रतिभा सम्मान’ सृष्टि केसीलाई प्रदान गरिएको छ । यसै वर्षदेखि शुरु गरिएको ‘गोपालप्रसाद रिमाल सम्मान’ गीतकार दिनेश अधिकारीलाई पुरस्कृत गरिएको छ । ती सबै पुरस्कारको राशि नगद रु ५१ हजार छ ।

पुरस्कार वितरण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले यसप्रकारको सम्मानले नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई भौतिक पूर्वाधार विकासले मात्र समृद्धि नहुने भन्दै कला, संस्कृतिको सम्बद्र्धन भएमा मात्र मुलुकको समृद्धिले सार्थकता पाउने उहाँले उल्लेख गर्नुभयो । पुरस्कृतको तर्फबाट गीतकार अधिकारीले कला, साहित्यको खोज, अनुसन्धान र समर्पणमा सम्मानले प्रेरणा जगाएको बताउनुभयो ।

संस्थाका अध्यक्ष वसन्त औधरी र उपाध्यक्ष एवं कलाकार हरिहर शर्माले स्रष्टा सम्मान मात्र नभई बौद्धिक जागरण अभिवृद्धिमा समेत विभिन्न अभियान चलाउँदै आएको बताउनुभयो । संस्थाले हरेक वर्ष कला, साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्ट्रालाई विगत २५ वर्षदेखि सम्मान गर्दै आएको छ । सो अवसरमा संस्थामा २५ वर्ष सेवा गरेका राजकुमार अधिकारी, कृष्णप्रसाद दीक्षित र राजकुमार गौतमलाई नगद रु २५ हजारसहित दीर्घसेवा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal