तीन वटै प्रज्ञा–प्रतिष्ठान कायम रहने

प्रकाश सिलवाल । काठमाडौँ, २१ असोज : रिक्त भएको एक महीनापछि नेपाल प्रज्ञा–प्रतिष्ठानले नयाँ नेतृत्व पाएको छ भने तीन प्रज्ञा–प्रतिष्ठान गाभिने विषय तत्काललाई टरेको छ ।

नेपाल सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान र ललितकला प्रज्ञा–प्रतिष्ठानलाई एकापसमा गाभी एउटै बनाइने उल्लेख गरेको थियो । उक्त घोषणा तयारीबिना गरिएकाले तत्काललाई पूर्ववत् प्रतिष्ठान रहने भएका हुन् ।

प्रज्ञा–प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेतीलाई आज नियुक्ति गरिएसँगै अन्य दुई प्रतिष्ठानमा नयाँ नियुक्तिका लागि सरकारले तयारी गरेको पाइएको छ । विसं २०६३ अघि कमलादीस्थित प्रतिष्ठानले तीन वटै क्षेत्रको प्राज्ञिक कार्यको नेतृत्व गर्दै आएकामा पछिल्लो जनआन्दोलनको भावना र विधागत मान्यतालाई सम्मान गर्दै २०६४ मा अलग अलग ऐनबाट तीन प्रतिष्ठान बनाइएको थियो । अलग अलग प्रतिष्ठान भए पनि कार्यक्षेत्र दोहोरिएको, भौतिक पूर्वाधार र जनशक्तिको अभाव भएको तथा सोचेजस्तो काम अघि नबढेको मात्र नभई आपसी विवादसमेत भएका कारण पुनःगाभ्ने राय पनि आएको थियो । मुलुक सङ्घीय संरचनामा गएकाले प्रादेशिक प्रज्ञा–प्रतिष्ठान पनि गठन हुन सक्नेछन् भने राष्ट्रियस्तरका प्रतिष्ठानले आफ्नो सम्पर्क कार्यालय खडा गर्ने तयारी गरेका छन् ।

नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न, राष्ट्रका विद्वान् एवं प्रतिभाको सम्मान गर्न, सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न स्थापित विसं २०१४ मा प्रतिष्ठानको स्थापना भएको हो । तत्कालीन सरकारबाट ‘नेपाल एकेडेमी ऐन २०१४’ पारित गरी सोही ऐनअनुसार नेपाली साहित्य, कला एकेडेमीका नाममा सो संस्था खडा भएको थियो । विसं २०१४ मा गठित यो प्रतिष्ठान २०३१ मा पुनःअर्काे ऐनद्वारा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा परिणत भयो ।

प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले आज कुलपतिमा उप्रेतीलाई नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सदस्य सचिवमा जगतप्रसाद उपाध्याय नियुक्त हुुनुभएको छ । उहाँहरुले आजैदेखि कार्यभार शुरु गर्नुभएको छ ।

कानूनबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा रहेको तीन सदस्यीय सिफारिश समितिको सिफारिशका आधारमा उहाँहरुको नियुक्ति भएको हो । समितिमा प्रा डा कैलाशनाथ प्याकुरेल र प्रा डा मोहनप्रसाद लोहनी रहनुभएको छ । उपकुलपतिलगायत प्राज्ञ परिषद् र प्रज्ञासभाका सदस्यको पनि चाँडै नियुक्ति हुने तयारी छ ।

नवनियुक्त कुलपति उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति र त्यसअघि उपकुलपति हुनुभएकाले उहाँले विगतमा बनाइएका योजनाको निरन्तरता र केही नयाँ कामको थालनी गर्र्ने बताउनुभयो ।

आज पदबहालीका क्रममा उप्रेतीले आदिकवि भानुभक्तदेखि अहिलेसम्मका स्थापित लेखक तथा स्रष्टाको जीवनी, इतिहास, उनीहरुले प्रयोग गर्ने सामग्रीलगायत वस्तु सङ्कलन गरी सङ्ग्रहालय बनाइने घोषणा गर्नुभयो ।

उहाँले चीन र दक्षिण एशिया साहित्य मञ्चको दोस्रो सम्मेलन एक वर्षभित्र नेपालमा गरिने बताउँदै यस क्षेत्रको साहित्यको विकासका लागि विभिन्न देशमा गोष्ठी र सम्मेलनका लागि उचित वातावरणको व्यवस्था गरिने पनि जानकारी दिनुभयो । नेपाल, भारत, चीन, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का सो मञ्चमा सहभागी छन् । भुटान, माल्दिभ्स र अफगानिस्तानलाई पनि मञ्चमा समेत सहभागी गराइने बताइएको छ । प्रतिष्ठानले पुस्तकालयलाई अत्याधुनिक बनाई विद्युतीय पुस्तकालय सञ्चालन गर्ने र भूकम्पबाट जीर्ण भवनको पुनःनिर्माण गर्ने योजना लिएको छ ।

अघिल्लो कार्यकालमा विभिन्न मुलुकसँगको प्राज्ञिक सम्बन्ध विस्तार, नयाँ पुस्तकालय भवन निर्माण, विभिन्न विधामा कृति प्रकाशनलगायत काम भएका थिए । आफ्नै नेतृत्वमा सम्पन्न गत भदौ १२ गतेको ३३ औँ प्राज्ञसभाले पारित गरेका वार्षिक कार्यक्रम र रु १७ करोडको बजेट कार्यान्वयनको अवसर उप्रेतीको नेतृत्वलाई छ । तीन वटै प्रतिष्ठानमा गत भदौ १९ गते पद रिक्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.