किसानसंँग कृषि ज्ञान केन्द्रको सम्झौता

बनेपा, ४ वैशाख : प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन बल्ल मङ्गलबारदेखि शुरु भएको छ । अर्को आर्थिक वर्ष शुरु हुन तीन महीना बाँकी रहँदा कृषि ज्ञान केन्द्रअन्तर्गतको कृषि कार्यक्रमको योजना मङ्गलबार सम्झौता भएको हो ।

प्रदेश सरकारबाट प्राप्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक गरी दुई प्रकारले बाली कार्यक्रम सम्झौता गरी कार्यान्वयनमा अगाडि बढेको केन्द्रका प्रमुख कृष्णबहादुर अधिकारीले बताउनुभयो । उहाँका अनुसार दुई जिल्ला हेर्ने गरी स्थापना भएको कार्यालय कात्तिकबाट खुलेको हो । त्यसरी कार्यालय खुलेको भए पनि समयमै कार्यक्रमका लागि निश्चित गरेर बजेट नपठाएका कारण ढिला हुन गएको उहाँको भनाइ छ ।

जसअन्तर्गत पहिलोपटक शुरु भएको कार्यक्रम कार्यान्वयन र परियोजनाअन्तर्गत पहिलादेखि सञ्चालन हुँदै आएको ३० पकेट र पछि थप भएको सात गरी ३७ पकेट कार्यक्रम र दुई ब्लकको लागि कार्यक्रम सम्झौता गरेको केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो । त्यसअन्तर्गत पकेटमा तरकारी, मौरी, कफी, मकै र धान गरी विभिन्न थरिका बाली रहेको छ भने ब्लकमा पाँचखालमा तरकारी र नमोबुद्धमा मकै परेको उहाँको भनाइ छ ।

यसैबीच कृषि सडकका लागि काभ्रेपलाञ्चोकमा ११ र सिन्धुपाल्चोकमा नौ गरी १९ आयोजना परेकामा रु पाँच करोड ५३ लाख बजेट रहेको जनाएको छ । जसमा सानोमा रु नौ लाखदेखि ठूलोमा ३७ लाखसम्मको बजेट रहेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । त्यससँगै पुष्पखेती गर्नका लागि परियोजना सञ्चालन हुने उहाँको भनाइ छ । त्यसका लागि पूँजीगतमा खर्च गर्ने गरी ९खेतीमा प्रोत्साहन गर्नका लागि ग्रिनहाउस, टिपेको फूललाई सङ्कलन गर्ने, सिँचाइ र मेसिन गरी० बढीमा ७० प्रतिशत अनुदानको व्यवस्था गर्ने गरी कार्यक्रम आएको छ ।

त्यससँगै अर्गानिकखेती कार्यक्रमका लागि रु डेढ करोडको कार्यक्रम सूचना निकालेर निवेदनउपर छानबिन गरी टुङ्ग्याउन बाँकी रहेको छ । त्यस्तै उच्च मूल्य वस्तु कार्यक्रमअन्तर्गत कार्यक्रम रहेको र जसमा स्ट्रावेरी, अलैँची, किबी, एबोकाडोलगायतका छन् ।

नमोबुद्ध नगरपालिकाका किसान हरि तिमल्सिनाले समूहमार्फत रु १० लाखको कार्यक्रम सम्झौता गरेको बताउनुभयो । “छ सहकारी र पाँच समूह मिलेर गठन गरेको ब्लकका लागि परियोजना सम्झौता गरेका छौँ”, तिमल्सिनाले भन्नुभयो, “परेको रकमबाट रु सात लाखको मेसिन खरीद गर्ने र तीन लाखको बीउ खरीद गरिनेछ ।” नमोबुद्ध नगरपालिकाको सबै वडा, पाँचखाल नगरपालिकाको ८ नं वडा र रोशी गाउँपालिकाको तीन वडालाई मिलाएर ब्लकको रुपमा स्थापना गरेको उहाँको भनाइ छ । सो परियोजनाअन्तर्गत दुई हजार रोपनीमा मकैखेती हुने र जसबाट करीब ५०० किसान लाभान्वित हुनेछन् ।

पाँचखाल–३ का अर्का किसान नीरु नेपालले तरकारी पकेट कार्यक्रमका लागि सामूहिक रूपमा कार्यक्रम सम्झौता गरी विभिन्न जातका तरकारी खेती गर्न रु पाँच लाखको कार्यक्रम सम्झौता गरेको बताउनुभयो । उहाँले सबैको फरक÷फरक खालको माग आएपछि अब समूहगत रूपमा तरकारी खेती गर्ने गरी कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

उता कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–६ का किसान जगनिधि चौलागार्इंले कोशीपारि सामुदायिक कृषि पकेट क्षेत्रको नाममा दुई समूह मिलेर दुई लाखको योजना सम्झौता गरेको बताउनुभयो । “अब यसबाट हाते ट्र्याक्टर खरीद गरेर खेती गर्नेछौँ”, उहाँले भन्नुभयो । यसैगरी रैथाने बाली विकास कार्यक्रम भनेर कम खेती हुने निश्चित र जात र भूगोलमा हुने कार्यक्रमअन्तर्गत कोदो, फापर, जौँ, चिनो, उवा, कावुनोलगायतका बाली विकासको कार्यक्रम हुने अधिकारीले बताउनुभयो ।

त्यस्तै कृषि सडक, पुष्पखेती, अर्गानिक खेती, रैथाने बाली विकासलगायतका सबै शीर्षकमा गरी फागुन मसान्तसम्ममा रु सात करोड ४१ लाख ५५ हजार ८९६ प्राप्त भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.