प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

काठमाडौँ, ४ असोज : सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उहाँले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गर्नुभयो । विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकारवाला निकायसँगको आवश्यक छलफलपछि संशोधन भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “हालै पारित भएका संविधानका मौलिक हकसँग सम्बन्धित कानूनमा पनि केही कमीकमजोरी भए तत्काल संशोधन गर्न सकिन्छ ।”

सभामुख महराले स्वस्थ्य र प्रतिस्पर्धात्मक समाज निर्माणका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउँदै देश र जनताका पक्षमा समर्पित भएर पत्रकारिताको जिम्मेवारी निर्वाह गर्न आमसञ्चारकर्मीलाई आग्रह गर्नुभयो । कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार हरिहर विरहीले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको अधिकार प्रदान गरेको भए पनि अन्य कानून बनाएर स्वतन्त्र प्रेसलाई सङ्कुचन गर्ने प्रयास गर्नु दुःखद् हो भन्नुभयो । पछिल्लो समयमा प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको उल्लेख गर्दै उहाँले त्यस्ता चुनौतीको सामना गर्न सबै सञ्चारकर्मीले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था हँुदाहँुदै पनि अन्य कानूनका आधारमा पत्रकार थुन्ने काम भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रता विरोधी कानून संशोधन नभएसम्म महासङ्घको आन्दोलन जारी रहनेछ भन्नुभयो । महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामाथि जुनसुकै चुनौती आए पनि पत्रकारले जनताको हितका लागि शासकलाई प्रश्न गर्न छोड्नु हुँदैन भन्नुभयो ।

रु दुई लाख २२ हजार २२२ राशिको पुरस्कार राईलाई

कार्यक्रममा नेजाका अध्यक्ष सुदीप पन्तले प्रवास पत्रकारिताले भोग्नुपरेको अनुभव सुनाउँदै ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापनाको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । नेजाले स्थापना गरेको रु दुई लाख २२ हजार २२२ राशिको ‘ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’ सभामुख महराले कान्तिपुर दैनिकका पत्रकार कुम्भराज राईलाई प्रदान गर्नुभयो । पुरस्कार ग्रहणपछि पत्रकार राईले पुरस्कारसँगै थप जिम्मेवारी थपिएको महसुस भएको बताउनुभयो । उक्त पुरस्कार मोफसलमा रहेर काम गर्ने सञ्चारकर्मीलाई ग्रामीण क्षेत्रको लेखनका लागि प्रत्येक दुई वर्षमा प्रदान गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.