वालिङमा बहुप्राविधिक शिक्षालय

वालिङ, २ असोज : स्याङ्जाको वालिङ १३ बोधिभञ्ज्याङमा बहुप्राविधिक शिक्षालय खुलेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को आङ्गिक संस्थाको रुपमा आँधीखोला बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएको हो ।बहुप्राविधिक शिक्षालयमा तीन वर्षे स्नातक तहको बाली विज्ञान विषयमा ४० जना विद्यार्थीले अध्ययन गर्ने छन् । “भदौ २७ देखि फारम वितरण गरेका हौं” शिक्षालयका प्रमुख नवीनकिशोर गैह्रेले भन्नुभयो ।

“ शिक्षालयका लागि नेपाल सरकारबाट ४० लाख र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट रु दुई करोड विनियोजन भएको छ” शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष कबिता गैह्रेले भन्नुभयो, “उक्त रकम भवन निर्माण गर्न सर्वे गर्न र शिक्षालय सञ्चालनमा खर्च हुनेछ ।”केही दिन अघिमात्रै स्वीकृति प्राप्त भएकाले भवन निर्माण भइसकेको छैन । सो शिक्षालय हाल लक्ष्मी माध्यमिक विद्यालयमा सञ्चालन गरेको शिक्षालय प्रमुख गैह्रेले बताउनुभयो ।

शिक्षालय सञ्चालन गर्न वालिङ नगरपालिका– १३ का ४१ जना स्थानीयवासीले ७० रोपनीभन्दा बढी जग्गा उपलब्ध गराइसकेका छन् । “बाली विज्ञान विषय अध्ययन गर्न अन्यत्रै जानुपर्ने बाध्यता थियो” वडा नं. १३ का अध्यक्ष आनन्द पाठकले भन्नुभयो,“शिक्षालयको सञ्चालनसँगै स्थानीय तहमै अध्ययन गरी आफ्नै खेतबारीमा प्रयोग गर्नसक्ने भएकाले पनि युवालाई आधुनिक र व्यावसायिक कृषितर्फ लाग्न थप ऊर्जा मिल्ने विश्वास लिएको छु ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.